काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घरमा आगो लाग्दा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा उपचार भइरहेका चित्रकारको फोक्सो र देब्रे हातमा गम्भीर जलन देखिएको थियो। जलन विशेषज्ञ डा कीरण नकर्मीका अनुसार अस्पतालमा ल्याउँदा अवस्थाभन्दा सुधार आएको छ र आज देब्रे हातको शल्यक्रिया गरिनेछ।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘पत्नीको फोक्सोमा हानिकारक ग्यास पुगेको र देब्रे हातमा गम्भीर जलन भएको छ। उपचारमा चिकित्सकहरूले विशेष ध्यान दिइरहेका छन्।’ उनले आगलागी घटनालाई योजनाबद्ध अपराध र अमानवीय कार्य ठहर गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
खनालले थपे, ‘घरमा तोडफोड, आगो लगाउने र लुटपाट गर्नेहरुको प्रमाण संकलन भइसकेको छ र छिट्टै सार्वजनिक गरिनेछ।’

