२०८२ असोज ३ गते शुक्रवार | 2025 September 19th Friday

पौडिँदै टिकटक बनाउने हुँदा साथी डुबेपछि बचाउन गएका युवासहित दुई जनाको ज्यान गयो

रुपन्देही । रुपन्देहीमा सँगै पौडी खेल्न गएका साथी डुबेपछि उद्दारका लागि गएका युवासहित दुई युवाको मृत्यु भएको छ ।

बुधबार दिउँसो गैडहवा गाउँपालिकामा रहेको गैडहवा तालमा स्थानीय युवाहरुको ५ जनाको समूह गएको थियो । उनीहरुले टिकटक बनाउँदै पौडिँदै गरिरहेका थिए ।

पौडी खेल्न गएका सोही गाउँपालिकाको वडा नं १ असिधवाका १८ वर्र्षीय दिपेश थारु पौडने क्रममा डुबेपछि टिकटक बनाइरहेका उनका साथी १८ वर्षीय अरुण थारु उद्दारको लागि गएका थिए । तर अरुणले न त साथीको ज्यान बचाउन सके न त आफू बाहिर आउन सके ।

सोही तालमा डुबेर दुवै जनाको मृत्यु भएको छ । गैडहवा १ का वडाध्यक्ष प्रदीप कुमार चौधरीले ५ जनाको समूहमा गएका युवाहरु टिकटक बनाउँदै पौडिदै गरेको समयमा एक जना डुबेको देखेपछि अर्को उद्दारका लागि गएको र दुवैको डुबेर मृत्यु भएको नेपाल प्रेसलाई बताए ।

‘उनीहरु गैडहवा तालमा पौडिदै टिकटक बनाउदै गरेका रहेछन्, त्यहाँ गहिरो र तल माटो थियो, सायद तलको हिलोमा उनीहरुको खुट्टा गएको हुनुपर्छ, कि धेरै पौडिन नजानेकोले पनि हुनसक्छ’ उनले भने–यहाँ धेरै पर्यटक आउने ठाउँ हो तर उनीहरु स्थानीय भएपनि यस्तो दुःखद घटना भयो, सिंगो गाउँ शोकाकुल भएको छ ।’

इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार दिउँसो करिब सबा ४ बजेतिर दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुब्न थालेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए। तर पहिले नै पानीमा डुबिसकेका दिपेशलाई उनले तान्न सकेनन् उल्टै अरण पनि उनीसँगै डुबेका हुन् ।

स्थानीयका अनुसार उनीहरू बिहान करिब ११ बजे घरबाट गैडाताल घुम्न निस्किएका थिए। मृतकहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ। वडाध्यक्ष अरुण चौधरीका अनुसार केही समयअघि आजकै स्थानमा दुई जना युवाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस