२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

देउवा दम्पतीमाथि त्यो दिन के भएको थियो, छरपस्ट नोटबारे बोल्यो सचिवालय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले राजनीतिक दलको कार्यालय र नेताहरुको निजी निवासमा भएको आगजनीप्रति गम्भीर आपत्ति जनाएको छ। बिहीबार जारी विज्ञप्तिमा सचिवालयले आपराधिक गतिविधिमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनलाई धमिलो बनाउन विभिन्न समूहहरूले २४ भदौ बिहानैदेखि आतङ्क सिर्जना गर्दै दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गरेका छन्। यसै क्रममा कांग्रेस सभापति देउवाको निवासमा डकैती शैलीमा प्रवेश गरी देउवा, उनकी पत्नी डा. आरजु राणा देउवालगायतमाथि सांघातिक आक्रमण भएको छ।”

देउवा सचिवालयले निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटहरू भेटिएको, पैसाको सुरुङ रहेकोजस्ता दाबीलाई कपोकल्पित, अतिरञ्जित र भ्रामक भनेको छ। सचिवालयका अनुसार सामाजिक सञ्जालमा देखाइएको भूमिगत संरचना वास्तवमा पानी ट्याङ्की हो।

त्यस्तै, प्रविधिको दुरुपयोग गरी विभिन्न स्थान र समयका जलेका नोटको तस्बिर तथा भिडियो सम्पादन गरेर युट्युब र सामाजिक सञ्जालमा फैलाइएको दाबी सचिवालयले गरेको छ। विज्ञप्तिमा भनिएको छ, “जनमानसमा अपमानित गर्ने उद्देश्यले भ्रामक सामग्री प्रसारण गरिएको छ, यसको कुनै सत्यता छैन।”

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस