२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

खरो मन्त्रीको दह्रो निर्णय : १० सहरका लागि सञ्चार मन्त्रीको पहिलो निर्णय सार्वजनिक

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पदभार ग्रहण गर्दै पहिलो निर्णयमा देशका प्रमुख १० सहरका सार्वजनिक स्थलमा ५ महिनाभित्र नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।

सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारीले ल्याएको प्रस्तावमा केही थप सुधार गरी लागू गर्न निर्देशन दिएका थिए।

मन्त्री खरेलले आफू कार्यकालमा “खरानी र धुलो टकटक्याउँदै” जनतालाई अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘यो सरकारमा रहेका हामी जति पनि मन्त्रीहरू छौं, हामीले देश पहिला, जनता पहिला अनिमात्रै अरु कुरा आउँछ। देश र जनता बनाउने कुरामा अघि बढ्छौं।’

उनले कर्मचारीतन्त्रलाई पूर्ण स्वतन्त्र बनाइदिनुपर्नेमा जोड दिए र बताए, ‘स्वतन्त्र बनियो भने, कुनै नेताको गोटी बन्न परेन भने, नेपालको ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक कर्मचारी दख्खल राख्छन्। लोकसेवा त्यतिकै पास भएको हुँदैन।’

खरेलले आफू केवल मन्त्री मात्र भएकोले काम अघि बढाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए। ‘सचिवज्यू तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ। काम अघि बढाउनुस्। मन्त्रीको तर्फबाट कुनै हस्तक्षेप हुँदैन। म तपाईंबाट सिक्छु,’ उनले थपे।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस