२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

शपथअघि नै यसकारण कट्यो संगीताको नाम, मन्त्री बन्ने सपना कसरी टुट्यो ?

काठमाडौं । स्वास्थ्यमन्त्री बन्ने तयारीमा अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्राको नाम अन्तिम समयमा आएर काटिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले उनलाई स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। तर, मेडिकल उपकरण खरिदमा अनियमितताको आरोप, अख्तियारमा विचाराधीन फाइल, र लामो समयसम्म बिदा बसेको विषय प्रमुख कारण बनेपछि प्रधानमन्त्री कार्यालयले उनको नाम ‘होल्ड’ गरेको हो।

आइतबार राति नै शपथ ग्रहण गर्ने तयारी भए पनि डा. मिश्राको नाम विवादमा परेपछि कार्यक्रम स्थगित गरिएको थियो। सोमबार राष्ट्रपति भवनमा चार जना नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्दा डा. मिश्राको सपना भने अधुरै रह्यो।

मिश्राले अतिरिक्त सचिवको पद छाडेर मन्त्री बन्ने तयारी गरेकी थिइन्। तर स्वास्थ्य मन्त्रालयमा उनीमाथि लगाइएको अनियमितता, विशेष गरी म्यामोग्राम मेसिन विनाको बक्सा मात्र बुझाएर रकम भुक्तानी गरेको फाइल, अख्तियारमा अझै अनुसन्धानमै रहेको बताइएको छ। यसैगरी, वरिष्ठता मिचिएको भन्दै उनी लामो समयसम्म बिदामा बस्नु पनि विवादास्पद मानिएको छ।

स्वास्थ्य सेवामा २०५७ सालमा प्रवेश गरेकी मिश्राले विभिन्न अस्पतालमा नेतृत्व गर्दै काम गरेकी छिन्। उनी स्वास्थ्य मन्त्रालयमा महत्त्वाकांक्षी तर विवादास्पद प्रशासनिक अधिकारीका रूपमा चिनिँदै आएकी थिइन्। यस पटक मन्त्री बन्ने सपना देखे पनि, अन्तिम क्षणमा उनको नाम काटिएपछि उनको राजनीतिक यात्रामा ठूलो धक्का पुगेको छ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस