२०८२ असोज ७ गते मङ्गलवार | 2025 September 23rd Tuesday

जेनजीको राप सेलाउन नपाउँदै दुर्गा प्रसाईँको नयाँ घोषणा, सबैतिर चिन्ता

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्।

मङ्गलबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै छठलगत्तै अनिश्चितकालीन आन्दोलन थाल्ने बताए।

‘हामी दसैँ, तिहार र छठपछि हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात-बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ। पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन,’ उनले भने।

प्रसाईँले जेनजी आन्दोलन हाइज्याक भएको दाबी गर्दै आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा पुगेको बताए। ‘आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क पर्‍यौँ। यससँगै नेपालमा विदेशी हस्तक्षेप बढेको छ,’ उनले बताए।

उनले धर्म कमजोर भएको टिप्पणी गर्दै नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा व्यक्त गरे। साथै उनले वर्तमान सरकार जेनजीको नभएको, बारबरा फाउन्डेसन र समता फाउन्डेसनका मन्त्रीहरूले हाइज्याक गरेको आरोप लगाए।

प्रसाईँले आफ्नो अभियान भ्रष्टाचार विरोध, बैंक ब्याजदर घटाउने, व्यवस्था र संविधान सुधार गर्ने उद्देश्यमा केन्द्रित रहेको बताए। ‘अहिले ब्याजदर १८ प्रतिशतबाट ७ प्रतिशतमा झरेको छ,’ उनले भने।

महाअभियान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा गर्न निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस