
काभ्रेपलाञ्चोक । ‘जेनजी’ आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएका हातहतियारसहित उनीहरुको साथबाट हतियार र गोली बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूमा मण्डनदेउपुर–७ घर भई हाल बनेपा–९ बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठ रहेका छन्। उनको साथबाट एक थान कटुवा पेस्तोल र ३६ राउण्ड गोली बरामद भएको छ।
त्यसैगरी मण्डनदेउपुर–७ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालकसहित अन्य पाँचजनाको पनि हातहतियार र ७३० राउण्ड गोलीसहित पक्राउ गरिएको छ।
काभ्रेपलाञ्चोककै तेमाल–२ का २१ वर्षीय तिमोथी तामाङ, पनौती–१० का ३४ वर्षीय अछुत खड्का, बाराका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया–६ का २४ वर्षीय सुशान्त लो समेत पक्राउ परेका छन्।
धुलिखेल–१ का रमेश तामाङलाई पनि पक्राउ गरिएको छ। उनी इलाका प्रहरी कार्यालय बनेपाबाट लुटपाट गरी हतियारसहित प्रदर्शनमा सहभागी भएको र टिकटकमा भिडियो बनाएको आरोपमा छन्।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए अनुसार, लुटिएको हतियार र गोलीसहित थप अनुसन्धान जारी रहेको छ। यसैगरी, यस अवधिमा विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई पनि प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ।