२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार जाने १० दलका शीर्ष नेताहरूको नाम सार्वजनिक

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आज १० दलका नेतासँग छलफल गर्दैछिन्। केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बैठकका लागि विभिन्न दलका शीर्ष नेताहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताहरूसमेत छलफलमा सहभागी हुनेछन्। नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले) बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन्।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुनेछन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दनकुमार सिंह सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

छलफलमा पर्यवेक्षकका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई समेत बोलाइएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस