२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

यी चार सर्त पूरा भए झलनाथ खनाल एमालेमा फर्किने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमालेमा फर्किन चार वैचारिक सर्त अगाडि राखेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन’ नदेखिएको भन्दै आलोचना गरेका छन्।

खनालले भने, एमाले फर्किन समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउनुपर्ने मुख्य शर्त रहेको छ। यदि चार आधारभूत सर्तहरूमा एकरूपता देखिएन भने नयाँ पार्टी निर्माण आवश्यक हुने खनालको ठहर छ।

एमाले फर्कनका चार वैचारिक सर्तहरू:
१. मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने।
२. समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउने।
३. नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने।
४. देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प

खनालले एमालेलाई आफ्नो ‘वैचारिक सन्तान’ भनेका छन्। तर अध्यक्ष ओलीको अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तिप्रति असन्तुष्टि पोखेका छन्।

एमालेसँग वैचारिक एकता नभएमा खनाल समूह नयाँ पार्टी निर्माण गर्न तयार छ। उनले यसैगरी माओवादी केन्द्रभित्रको पुनर्गठन प्रयाससँग निकटता सम्भव रहेको संकेत पनि दिएका छन्।

देशको राजनीतिक संकट समाधानका लागि उनले निर्वाचनलाई पहिलो विकल्प नमान्ने धारणा राखेका छन्। संसद पुनर्स्थापना वा राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलनमार्फत राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस