इटहरी / सुनसरी। शिव पार्वती युवा समूहका युवाहरुले इटहरी–७, नवप्रतिभा टोल निवासी मृतक एन्जल दर्जीको परिवार अत्यन्तै कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको जानकारी गराएपछि, सामाजिक संस्था परिवर्तन एक अभियान, इटहरी–७ द्वारा उक्त परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
संस्थाका पदाधिकारीहरू र स्थानीय युवाहरूको उपस्थितिमा आयोजित उक्त सहयोग कार्यक्रममा एन्जल दर्जीका बाबु गोपाल दर्जी, आमा तारा दर्जी र हजुरआमा सुमित्रा परियारलाई खाध्यान्न सामग्री (चामल, आलु, तेल र चना/मटर) हस्तान्तरण गरिएको छ।
सहयोग प्राप्त परिवारका सदस्यहरू हर्षित हुँदै भने “हामी निकै कठिन परिस्थितिबाट गुज्रिरहेका थियौँ। छोरी एन्जलको निधनपछि परिवारको अवस्था झन् कमजोर बनेको थियो। यस्तो समयमा परिवर्तन एक अभियान, इटहरी–७ का दाजुभाइ दिदिबहिनीहरूले घरमै आइपुगेर सहयोग गर्नुभयो।यो सानो सहयोगले हाम्रो परिवारलाई ठूलो हौसला र आशा दिएको छ। हामी हर्षित र कृतज्ञ छौँ। समाजमा यस्ता मानवीय भावना जगाउने अभियानहरू निरन्तर चलिरहोस् भन्ने हाम्रो शुभकामना छ।”
संस्थाका अध्यक्ष तेज प्रसाद घिमिरेले यस्तो कठिन समयमा सानो सहयोगले पनि परिवारमा आशा र मानवीय सम्बेदना जगाउने विश्वास व्यक्त गरेका छन्। साथै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगका कार्य निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित युवाहरूले स्थानीय स्तरमा सेवा, सहयोग र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले यस अभियानको स्थापना गरेका हुन्।
संस्थाले आफ्नो पहिलो वर्षमै विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य र मानवीय सहयोगका कार्यहरू गर्दै समुदायमा विश्वसनीयता आर्जन गर्न सफल भएको छ । परिवर्तन एक अभियानले कुनै पनि राजनीतिक पक्षपात वा स्वार्थ विना मानवीय सेवामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । “समाज बदल्ने” मूल मन्त्रका साथ, संस्थाले इटहरी र आसपासका क्षेत्रमा सहयोग र परिवर्तनको सकारात्मक लहर फैलाइरहेको छ ।

