२०८२ कार्तिक २२ गते शुक्रवार | 2025 November 7th Friday

राति बारम्बार पिसाब लाग्छ भने होसियार, हुनसक्छ यस्तो गम्भीर रोगको संकेत

डा. विभूषित महत
पिसाब केवल शरीरको फोहोर पदार्थ निकाल्ने माध्यम मात्र होइन, यो स्वास्थ्यको संकेतक पनि हो । चिकित्सकहरूका अनुसार पिसाब गर्न कुनै समस्या छैन र दिनमा ६–७ पटक पिसाब लाग्छ भने शरीर सामान्य अवस्थामा रहेको बुझिन्छ । तर, सामान्यभन्दा बढी पटक पिसाब लागिरहनु स्वास्थ्यमा समस्या भएको संकेत हुन सक्छ ।

बारम्बार पिसाब लाग्ने कारणहरू
धेरै तरल पदार्थ सेवन गर्दा वा क्याफिनयुक्त पेयपदार्थ पिउँदा बारम्बार पिसाब लाग्न सक्छ । गर्भावस्थामा पनि पाठेघरको दबाबका कारण यस्तो समस्या देखिन्छ । तर, कारणबिना लगातार पिसाब लागिरहनु ओभरएक्टिभ ब्ल्याडर (OAB) को लक्षण हुन सक्छ, जसमा ब्ल्याडरको स्नायु अत्यधिक संवेदनशील भएर पिसाब गर्न तीव्र इच्छा पैदा हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

गम्भीर समस्या हुन सक्ने अवस्था
यदि दैनिकजसो पिसाब बारम्बार आउँछ र पिसाब गर्दा पेट दुख्ने, पोल्ने वा असहजता महसुस हुन्छ भने यो निम्न रोगहरूको संकेत हुन सक्छः

  • युरिनरी ट्रयाक्ट इन्फेक्सन (UTI): मूत्रनलीमा ब्याक्टेरिया संक्रमण हुँदा यस्तो समस्या हुन्छ । महिलामा यो समस्या बढी देखिन्छ ।

  • प्रोस्टेट ग्रन्थि बढ्नु: पुरुषहरूमा उमेर बढेसँगै प्रोस्टेट ग्रन्थि फुल्दा पिसाबको प्रवाह अवरुद्ध हुन्छ र बारम्बार पिसाब लाग्ने समस्या देखिन्छ ।

  • मिर्गौलाको पत्थरी: शरीरमा कम पानी पिउँदा पिसाब बाक्लो भई पत्थरी बन्ने सम्भावना बढ्छ । पत्थरीले पिसाबको मार्ग रोकेर समस्या निम्त्याउँछ ।

  • मधुमेह (डायबिटिज): रगतमा चिनीको मात्रा बढ्दा मिर्गौलाले पूर्ण रूपमा अवशोषण गर्न सक्दैन र अतिरिक्त चिनी पिसाबमार्फत बाहिर निस्कँदा बारम्बार पिसाब लाग्ने समस्या हुन्छ ।

  • मानसिक समस्या: तनाव र चिन्ताले शरीरमा पिसाब कम गराउने हार्मोनको स्राव घटाउँछ, जसले बारम्बार पिसाब लाग्ने समस्या उत्पन्न गर्न सक्छ ।

कति पटक पिसाब लाग्नु सामान्य ?
सामान्यतया दिनमा सातदेखि आठ पटकसम्म पिसाब लाग्नु सामान्य मानिन्छ । तर, राति पटक–पटक पिसाब लागेर निन्द्रा बिथोलिन्छ भने त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । चिकित्सकहरूका अनुसार राति एक वा दुई पटकसम्म पिसाब फेर्न उठ्नु सामान्य हो, तर त्यसभन्दा बढी बारम्बार उठ्नुपर्छ भने परीक्षण आवश्यक हुन्छ ।

परीक्षण र उपचार
पहिलो चरणमा मूत्र परीक्षणबाट समस्या पहिचान गरिन्छ । आवश्यक परे अल्ट्रासाउण्ड वा अन्य जाँच गरिन्छ ।

  • मिर्गौलाको सानो पत्थरी जीवनशैली सुधार र पानीको मात्रा बढाएर निको पार्न सकिन्छ, तर ठूलो पत्थरीमा शल्यक्रिया आवश्यक पर्छ ।

  • UTI का लागि सरसफाइमा ध्यान दिनु र पर्याप्त पानी पिउनु उपयोगी हुन्छ ।

  • मधुमेहका बिरामीले औषधि र आहार नियन्त्रणमा राख्नुपर्छ ।

  • मानसिक कारण भएमा जीवनशैली परिवर्तन र चिकित्सकीय सल्लाहद्वारा समस्या कम गर्न सकिन्छ ।

डा. विभूषित महत युरोलोजिस्ट हुन् र विभिन्न अस्पतालमा उपलब्ध छन् ।

 

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस