काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अब हामी निर्वाचन प्रक्रियामा गयौं भनेर जानकारी दिई महाधिवेशन स्थल फर्किएका छन्। देउवा निवास महाराजगन्जमा बुधबार बिहान भएको वार्तामा दुई महामन्त्रीले भनेका थिए, विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया फाइनल अवस्थामा पुगिसकेको छ। हामी सभापतिज्यूको सम्मान राख्न मात्र तपाईंसँग कुरा गर्न आएका हौं। वार्तामा सहभागी एक नेताका अनुसार महामन्त्रीद्वयले देउवालाई पार्टी सभापतिबाट राजीनामा दिई संरक्षकको भूमिकामा बस्न आग्रह गरेका थिए।
ुमहामन्त्रीहरूले सभापतिज्यूलाई संरक्षक भएर बस्नुस्, पार्टीको नेतृत्वबाट अलग हुनुस् भन्नुभयो, वार्तामा सहभागी एक नेताले महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै भने, तपाईंले असोज २८ गते नै पार्टीको कार्यकारी भूमिका त्यागेर पूर्णबहादुर खड्कालाई कार्यवाहक दिनुभएको थियो। त्यसलाई कार्यान्वयनमा लैजानुस्। महामन्त्रीद्वयले राखेको यस्तो प्रस्तावमा देउवाले कुनै जबाफ नदिएको वार्तामा सहभागी नेताले जानकारी दिए। देउवाले जबाफ नदिएपछि महामन्त्रीद्वयले अगाडि भने, ुसभापतिज्यू, हाम्रो कुरा यही हो। तपाईं हुन्छ कि हुँदैन सोचेर भन्नुहोला। हामी चाहिँ अब निर्वाचन प्रक्रिया अघि बढाउँछौं।
दुई महामन्त्रीले यसो भनेपछि देउवाले सोधे, विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी फुट्दैन ? यसको जबाफमा महामन्त्रीद्वयले भने, पार्टी फुट्दैन सभापतिज्यू। नेतृत्व परिवर्तनले पार्टी फुट्ने भन्ने कहाँ हुन्छ ? तपाईंको ठाउँमा प्रतिनिधिले छानेको सभापति आउने हो । पार्टी फुटेको भन्ने होइन । उनीहरूले अगाडि भने, नेतृत्व परिवर्तन भनेको हामी दुई जनाले मात्र गर्ने होइन। यो विशेष महाधिवेशनको हाउसले गर्ने निर्णय हो। हाउसले पार्टीको नेतृत्व परिवर्तन गर्ने हो, पार्टी फुटाउने होइन। त्यसैले हामी अब निर्वाचन प्रक्रियामा अघि बढ्यौं। यति जबाफ दिएर दुई महामन्त्री देउवा निवास महाराजगन्जबाट बाहिरिएको ती नेताले जानकारी दिए।
सभापति देउवा र दुई महामन्त्रीबीचको वार्ता करिब एक घन्टा चलेको थियो। वार्तामा रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजाल पनि सहभागी थिए। दुई महामन्त्रीले देउवाको राजीनामा नै आफूहरूको ुबटमलाइनु भएको बताएका थिए। देउवा लगायत संस्थापन पक्षले भने यो माग स्वीकार गर्न नमानेको वार्तामा सहभागी एक नेताले जानकारी दिए। सभापति देउवासँग कुरा नमिलेपछि विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रियालाई तीव्रता दिएको छ। निर्वाचन विद्युतीय माध्यमबाट गर्ने तयारी छ। यसबीच संस्थापन पक्षका नेताहरू पार्टीको केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपामा जुट्दै छन्। विशेष महाधिवेशन पक्षसँग वार्ता गरी सहमतिको बाटो खोज्न केन्द्रीय समिति बैठक सारिँदै आएको थियो।

