२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

निर्वाचन आयोगले फागुनमा पानी पर्छ कि पर्दैन ? भनेर सोधेकोमा विभागले दियो यस्तो जवाफ

weather forecast nepal today

काठमाडौं । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। त्यो बेला पानी वा हिमाली भेगमा हिमपात हुन्छ कि हुँदैन के छ सम्भावना भनेर निर्वाचन आयोगले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखालाई सोधेर जबाफसमेत प्राप्त गरेको छ।

निर्वाचन आयोगले पत्र नै पठाएर महाशाखालाई फागुनको मौसमी अवस्थाबारे सोधेको थियो। जबाफमा महाशाखाले एक साताको मौसमी अवस्था मात्रै महाशाखाले भन्न सक्ने कुरा उल्लेख गरेको छ। ‘जल तथा मौसम विज्ञान विभागले पत्रबाटै जानकारी गराउनुभएको छ, अहिले पछिल्लो प्रविधिअनुसार एक सातासम्मको मौसमी अवस्था जानकारी दिन सक्नु हुने रहेछ। त्यसभन्दा अघिको भविष्यवाणी गर्न सक्ने खालको प्रविधि रहेनछ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘हामीले फागुन १० गतेदेखि ३० गतेसम्मको मौसम पूर्वानुमान पठाउन भनेका थियौं। उहाँहरूले निकै मेहनत गरेर पछिल्लो ३० वर्षको औसतमा रेकर्ड पठाउनुभएको छ।’

महाशाखाले विगत लामो समयको अध्ययन गरेर फागुनमा पानी नपरेको अवस्थाबारे आयोगलाई जानकारी गराएको छ। विगत ३० वर्षको अवस्था हेर्दा फागुन २० देखि २३ गतेसम्म पानी नपरेको देखिएको महाशाखाले आयोगलाई जानकारी गराएको हो। ‘३० वर्षको औसत रेकर्ड हेर्दा फागुन २० तिर वर्षा देखिएको छैन। मौसम अलि सुखा हुने देखिएको छ,’ उनले भने, ‘हामीले महाशाखालाई निरन्तर मौसमी अपडेट गराइराख्नुस् भनेका छौं। मौसमकै कारणले निर्वाचन प्रभावित हुने नदेखिएको पनि उनले बताए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस