२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

रास्वपा उम्मेदवार बारे भ्रामक पोष्ट गर्ने एमाले युवा नेता पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा नेकपा एमालेका एक युवा नेता पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति इनरुवा निवासी विप्लव घोष हुन्, जो एमाले सुनसरीका युवा नेता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार घोषले सामाजिक सञ्जाल प्रयोग गरी सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवारलाई लक्षित गर्दै भ्रामक भिडियो र सामग्री पोस्ट गरेका थिए। ती सामग्रीले गलत सूचना, झुटा समाचार र अफवाह फैलाएको ठहर गर्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना र भ्रामक सामग्रीप्रति विशेष निगरानी बढाइएको जानकारी दिएको छ। प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्न पेजहरूलाई निगरानीमा राख्दै चुनावी माहोलमा भ्रम फैलाउने कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न सबैलाई सचेत गराएको छ।

यसअघि रास्वपा सुनसरीले विज्ञप्ति जारी गर्दै विप्लव घोषमाथि कानूनी कारबाहीको माग गरेको थियो। सो विज्ञप्ति सार्वजनिक भएपछि घोषले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका थिए। तर पछि उनले उक्त क्षमायाचनासम्बन्धी पोस्ट हटाउँदै ‘हाइकमाण्डको सल्लाहअनुसार’ पोस्ट डिलिट गरिएको उल्लेखसहित पुनः नयाँ स्ट्याटस लेखेका थिए। प्रहरीले निर्वाचनको संवेदनशील समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउने जो–कोहीलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारेको छ।

 

प्रकाशित मिति : २०८२ माघ २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस