२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

एमालेकै शीर्ष नेताले भने, एमाले मन नपरेर सूर्यमा हात नगए तारामा भोट हाल्नुस्

पोखरा । नेकपा एमालेका नेता तथा प्रदेश सभाका सदस्य वेदबहादुर गुरुङले सूर्य चिह्न मन नपरे तारामा भोट हाल्न आग्रह गरेका छन् । सोमबार वक्तव्यमार्फत उनले वैचारिक हिसाबले मत परिवर्तन नगर्न र एमाले मन नपरे नेपाली कम्युनिस्ट पार्टीलाई मत दिन आग्रह गरेका हुन् । ‘कम्युनिस्ट पार्टीको मत आ आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ बुर्जुवातिर सार्ने गल्ती नगरौँ,’ उनले भने, ‘ठ्याक्कै भन्नुपर्दा सबैले मत एमालेको सूर्य चिह्मा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिह्नमा हालौँ तर अन्य पार्टीमा नहालौँ ।’

उनले कम्युनिस्टहरूको मत धेरै भए पनि विभाजित भएका कारण समस्या परेको बताएका छन् । ‘विगतमा माओवादीको आकार बढ्दा एमालेको आकार घटेको थियो । एमालेको आकार बढ्दा माओवादीको घटेको थियो,’ उनले अघि भने, ‘एमाले र माओवादी मिल्दा झण्डै दुई तिहाइ पुगेको थियो । तर अहिलेको निर्वाचनमा ती दुई पार्टीमा भोट हाल्दै आएका मतदाताहरूले परिवर्तनको नाममा बुर्जुवा पार्टीलाई भोट हाले सधैँको लागि बुर्जुवा वर्गमा पलायन हुन सक्छन् ।’ गुरुङ गण्डकीको पूर्वमन्त्री हुन् भने मादी गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । उनको कास्की क्षेत्र –१ मा एमालेबाट बैनबहादुर अधिकारी उठेका छन् भने नेकपाबाट राजकाजी गुरुङ करण उम्मेदवार छन् । उनको वक्तव्यलाई लिएर केहीले गुरुङ समुदायको भएकाले नेकपाका गुरुङलाई मत मागेको तर्क गरेका छन् ।

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस