२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

भोलि मतदान: मतदाता परिचयपत्र वा अन्य प्रमाणपत्र लिएर मतदानमा सहभागी बनौ – निर्वाचन आयोगको आग्रह

प्रकाश काफ्ले/काठमाडौँ। भोलि हुने निर्वाचनका लागि निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई आवश्यक परिचयपत्र साथमा लिएर तोकिएको मतदान केन्द्रमा उपस्थित हुन आह्वान गरेको छ। मतदान कार्य बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

आयोगका अनुसार मतदान केन्द्रमा जाँदा कम्तीमा एक वटा आधिकारिक परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा हुनुपर्नेछ। मतदाता परिचयपत्र नभए पनि नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, फोटोसहितको जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात लिएर जान अनुरोध गरेको छ ।

मतदातालाई आफ्नो नाम मतदाता नामावलीमा समावेश भएको छ कि छैन भन्ने कुरा पूर्वमै यकिन गर्न पनि आग्रह गरिएको छ। साथै, तोकिएको मतदान केन्द्रमै पुगेर शान्तिपूर्ण र मर्यादित ढंगले मतदान गर्न आयोगले अनुरोध गरेको छ।

निर्वाचनलाई व्यवस्थित, सुरक्षित र निष्पक्ष बनाउन सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ। लोकतन्त्रलाई सुदृढ बनाउने मुख्य आधार नागरिकको मत भएकाले जिम्मेवार सहभागितामार्फत आफ्नो अधिकार प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस