२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

नेपालका प्रधानमन्त्री बालेन शाहको जीवनी

बालेन शाहको जीवनी

३४ बर्षमा प्रधानमन्त्री मात्र हैन, बालेन शाहले विश्वका कुनैपनि देशमा एउटै दललाई दुई तिहाई भन्दा बढी मत नपाएको इतिहास रचे । ३१ बर्षमै नेपालको राजधानी काठमाडौंको मेयर बनेका उनले राजनीतिक दलमा आवद्ध भएको केही महिनामा नै यो सफलता प्राप्त हुनुलाई विश्वका मानिसहरु अभूतपूर्ण भनेका छन् । बालेनको निजी जीवन, उनको पृष्ठभूमि वा व्यक्तित्वका विविध पाटाबारे अझै मानिसहरूलाई थोरै मात्र थाहा छ। यसैले हामी यो जीवनीमा केही रहस्य खोतल्छौं ।

बालेनको पूरा नाम बालेन्द्र शाह हो। बुबा रामनारायण शाह र आमा ध्रुवदेवी शाह। यो परिवारको पृष्ठभूमि राजनीतिक होइन। उनका बुबा आयुर्वेदिक डाक्टर हुन्। काठमाडौंको नरदेवीमा जन्मे–हुर्केका बालेन पेसाले इञ्जिनियर हुन्। उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट छन्। भाउजू बैंकमा काम गर्छिन्। बहिनी चित्रकार हुन्। बालेनकी श्रीमती सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्।

बालेन सानैदेखि संगीततर्फ झुकाव राख्थे। स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माका अनुसार बालेन राम्रो कवितापनि लेख्छन्। उनले र–बार्जको र्‍याप ब्याटलमा भाग लिएपछि चर्चा ह्वातै चुलिएको थियो । युवाहरुमा र्यापबाट निक्कै चर्चित थिए । काठमाडौंको भिएस निकेतन कलेजबाट प्लस–टु, खुमलटारको हिमालयन ह्वाइटहाउस इञ्जिनियरिङ कलेजबाट सिभिल इञ्जिनियरिङ गर्दा नै बालेन राजनीतिक अवस्था देखेर फ्रस्टेट थिए। पहिलो संविधानसभा निर्वाचनका बेला हुने नेपालबन्द लगायत घटनाले बालेन चिढिन्थे।

प्रहरीले लामो कपाल पाल्न नपाइने नियम ल्याउँदा उनले प्रहरी प्रतिकार भन्ने गीत नै निकाले । पहिलो संविधानसभाअघि बालेन संविधान निर्माणका लागि दबाबमूलक कार्यक्रम वी फर कन्स्टिच्युसन अभियानमा सहभागी हुन्थे। त्यसपछि उनी पढ्न भारत गए। बैंगलोरबाट स्ट्रक्चरल इञ्जिनियरिङमा विशेषज्ञता हासिल गरे। नेपाल फर्किएपछि बालेनले इञ्जिनियरिङको पेसागत काममा तीव्रता दिए। भूकम्पपछि पुनर्निर्माणको काममा उनी एउटा संस्थामार्फत् जोडिए। पुनर्निर्माणको काममा संलग्न भएकै समयमा बालेनले एक फ्रान्सेली इञ्जिनियरसँग काम गर्ने मौका पाए। बालेनकी श्रीमती सविनाका अनुसार ती इञ्जिनियरले बालेनमा राम्रै छाप पारे। ती फ्रेन्च इञ्जिनियरले तिमीहरूको देश साँस्कृतिक रूपमा धनी छ तर पनि यो ठाउँ कसरी कंक्रिटको जंगल जस्तो भयो भनेर सोधेका रहेछन्। त्यो कुराले उहाँलाई निकै समातेको थियो, काठमाडौंमा आधुनिकता र सँस्कृतिलाई कसरी सँगै जोड्ने भनेर उनी घोत्लिन थाले । नाकाबन्दीका बेलादेखि राजनीतिक गतिविधिमा उनी संलग्न हुन थाले । नाकाबन्दीताका फेसबुकको एमआरआर समूहले आयोजना गरेको सडकभोजमा उनी सहभागी भए। त्यस्तै अर्को समूह दारी ग्याङ ले गर्ने विभिन्न सामाजिक कार्यक्रममापनि सहभागी हुन्थे।

र्‍याप र इञ्जिनियरिङ सँगै अघि बढाइरहेका बालेन राजनीतिमा भने सुरूमा विवेकशील पार्टीप्रति आकर्षित थिए। उनले विवेकशील पार्टीबाट राजनीति गर्ने चाहना पनि राखेका थिए। विवेकशील र साझा पार्टी एक भएर छुट्टिएका बेला उनी उक्त पार्टीको सम्पर्कमा पुगेका थिए। त्यो बेलै उनले आगामी चुनावमा विवेकशीलबाट मेयर उठ्ने चाहना राखेका थिए। विवेकशीलले पहिलो पार्टी सदस्यता अनि मात्र मेयरको टिकट भनेपछि बालेनले सदस्यता लिएनन्। मेयरमा उठ्ने सपना पनि छाडेनन्। आफ्नै तरिकाले उनी त्यसको तयारीमा लागे। उहाँले साढे दुई वर्षअघि मेयर उठ्छु भनेर फेसबुकमा लेख्दा उहाँका साथी र हामीले पनि जिस्कायौं, बालेनकी श्रीमती सविनाले भनिन्। तर पार लगाउनुभयो । उनी कसैले काम नगरेको देख्दा निक्कै निरास भए । त्यसैले उनले मेयर उम्मेदवार हुनुभन्दा अघिल्लो चुनावका समय नै उनले फेसबुकमा लेखेका थिए । म यो पटक कसैलाई भोट हाल्दिन । अर्को पटक म आफैं उठ्छु अनि भोट हाल्छु । काम नगर्नेलाई नो भोट भनेका थिए । सटिक र प्रस्ट बोल्न सक्ने बालेनको क्षमता छ। बिस्तारै आम मानिसमाझ सार्वजनिक हुँदै गरेका बालेनको व्यक्तित्व कतिपय मानिसलाई भने बिझेको छ। बालेनका कतिपय व्यवहार र भनाइले उनको व्यक्तित्वको सम्भावित अर्को पाटोबारे पनि संकेत गर्छन्। तर उनी ज्यादै परिपक्क छन् ।

बालेनको पहिरनशैली पनि एक राजनीतिज्ञका लागि कम स्वाभाविक देखिन्छ। उनी सधैं कालो चस्मा लगाउँछन्। हलमा सम्बोधन गर्दा होस् वा कोठामा छलफल गरिरहँदा, कालो चस्मामै देखिन्छन्। मिडियालाई दिएका कैयौं अन्तर्वार्तामा उनले कालो चस्मा फुकालेका छैनन्, फुकाल्दैनन्। तर दिल फुकाल्छन् । दिल र दिमाग बाँड्छन् ।

बालेनमा पनि आफूमाथि अति नै विश्वास देखिन्छ। राजनीति एक्लै पार लगाउँछु भन्नेमा थिए उनी । तर त्योपनि सुधारे । मेयर जितेपछि अरुले काम गर्न नदिएको पीडाले उनमा बदलाप आयो । यसैले उनी रास्वपामा मिसिए । उनको आगमनले रास्वपाको घण्टी चुनाव चिन्हले इतिहास रच्यो । मेयर भनेको कम्पनीको सिइओजस्तो ठान्थे उनी । सिइओका सबै निर्णय र निर्देशन चल्छन्। कार्यकारी प्रमुख प्रधानमन्त्रीपनि उनले त्यस्तै बुझेका छन् । त्यो भन्दापनि उनी इमान्दार छन् । भ्रष्टाचार र पदिय दुरुपयोगको विरुद्ध अभिन्छन् । निर्णय गर्छन् । कानूनमा यो गर यो नगर भन्ने कुरा मिलेको छैन भने मिलाई हालौं भन्छन् । तर कानून बनेपछि चै गर भनेको कुरा गर्दैनन् र नगर भनेको कुरा गर्छ भने चै उनीहरुलाई कठोर सजाय दिनै पर्छ भन्छन् । एक पटक अनावश्यक रुपमा ट्राफिकले कार रोक्दा सिंहदरबार जलाइदिन्छु सम्म भनेका थिए ।

महिलाहरूको आत्मसम्मानका विषयमा बालेन कति सचेत र संवेदनशील छन् भन्ने प्रश्न पनि पछिल्लो समय उठेको छ। उनले र्‍याप गाउँदा प्रयोग गरेका शब्दलाई लिएर यो प्रश्न उठेको थियो । तर पछिल्लो समय आमा, श्रीमती र राज्यका अभिभावकलाई उच्च सम्मान भाव प्रकट गर्दै उनले सबैको मन जितेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस