२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

मकवानपुरमा प्रहरीमाथि आक्रमण, एक प्रहरी र एक युवक घाइते, दुई पक्राउ

प्रकाश काफ्ले/काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरी टोलीमाथि आक्रमण भएको छ। प्रहरी टोली लागुऔषध सेवन र झगडा नियन्त्रण गर्न पुगेको बेला एक प्रहरी अधिकारी घाइते भएका छन्। आत्मरक्षाका क्रममा प्रहरीले गोली चलाउँदा एक युवक पनि घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी पुष्कर बोगटीका अनुसार घटनामा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ। उनीहरू हुन्—हेटौँडा उपमहानगरपालिका–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङ।

प्रहरीका अनुसार बुधबार राति करिब ८:५० बजे सो ठाउँमा लागुऔषध सेवन र झगडा भइरहेको सूचना पाएपछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा टोली खटिएको थियो। सोधपुछको क्रममा असई तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको थियो। यसबाट असई तामाङ मध्यम घाइते भएका थिए।

आत्मरक्षाका लागि उनले पेस्तोलबाट गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तिगौडाका १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको थियो। घाइते प्रहरी र तितुङलाई हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा भर्ना गरिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुई जनासँगै गोली लागेका तितुङ पनि पहिलेदेखि लागुऔषध, चोरी र अन्य आपराधिक घटनामा संलग्न रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस