प्रकाश काफ्ले/काठमाडौं । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने भनिएको सरकारमा मन्त्रीहरूको संख्या धेरै नहुने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेताहरूका अनुसार मन्त्रिपरिषद् सानो राख्ने योजना बनाइएको छ, जसमा करिब ११ देखि १५ जना मन्त्री मात्र रहने सम्भावना छ। रास्वपाका सांसदसमेत रहेका अमरेश कुमार सिंहले पार्टीले सीमित संख्यामा मन्त्री राख्नेबारे आन्तरिक सहमति भएको जानकारी दिए। उनका अनुसार प्रभावकारी र चुस्त सरकार सञ्चालन गर्न सानो मन्त्रिमण्डल बनाउने विषयमा छलफल भएको हो।
सिंहका अनुसार उनले हालै वरिष्ठ नेता बालेन शाह र पार्टी सभापति रवि लामिछाने सँग भेटघाट गरेका थिए। उक्त भेटमा मन्त्रीहरूको संख्या ११–१५ भित्र राख्ने विषयमा समझदारी बनेको उनले बताएका छन्। साथै उनले बालेन शाहले आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्न सक्ने सम्भावनाबारे पनि चर्चा भएको संकेत गरे।
यसैबीच, पछिल्ला दिनहरूमा बालेन शाह र रवि लामिछानेबीच दूरी बढेको भन्ने चर्चा पनि निराधार भएको सिंहले दाबी गरे। उनका अनुसार पार्टीभित्र त्यस्तो कुनै असन्तुष्टि वा विवाद नभएको उनले स्पष्ट पारे।

