प्रकाश काफ्ले / काठमाडौं । श्रीलङ्का सरकारले मुलुकमा चुलिँदै गएको इन्धन संकट व्यवस्थापन गर्न साताको कार्यदिन घटाएर चार दिनमा झार्दै हरेक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नजिक पुगेपछि राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबारलाई अतिरिक्त बिदा दिने निर्णय गर्नुभएको हो। लगातार तीन दिन सरकारी कामकाज ठप्प नहोस् भन्ने उद्देश्यले शुक्रबारको सट्टा हप्ताको बीचमा पर्ने बुधबारलाई बिदाका लागि छानिएको सरकारले स्पष्ट पारेको छ। यो नयाँ नियम सरकारी कार्यालय, विद्यालय र विश्वविद्यालयहरूमा तत्काल लागू हुनेछ।
इन्धनको खपत घटाउन सरकारले ‘नेशनल फ्युल पास’ (QR कोड प्रणाली) पुनः सुरु गरी निजी सवारी साधनका लागि कोटा निर्धारण गरेको छ, जसअन्तर्गत कारलाई हप्तामा १५ लिटर र मोटरसाइकललाई ५ लिटर मात्र इन्धन दिइनेछ। स्वास्थ्य, खानेपानी, भन्सार र बन्दरगाह जस्ता अत्यावश्यक सेवाहरू भने साविक बमोजिम नै सञ्चालन हुनेछन्। इरान र इजरायलबीचको द्वन्द्वले ऊर्जा आपूर्ति प्रणालीमा अवरोध पुर्याएपछि श्रीलङ्काले यो कठोर कदम चालेको हो। हाल सरकारले इन्धनको निरन्तर आपूर्तिका लागि भारत र रुससँग उच्चस्तरीय वार्ता गरिरहेको छ भने कर्मचारीहरूलाई सम्भव भएसम्म घरबाटै काम गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

