२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

नेपालमा भ्याट नतिर्ने टिकटकको अडान, सरकारसँग टकराव:गुगल–एप्पललाई देखाउँदै भ्याटबाट पन्छियो

प्रकाश काफ्ले / काठमाडौं । नेपालमा लोकप्रियता कमाएको सामाजिक सञ्जाल टिकटकले यहाँ हुने कारोबारबापतको मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने अडान लिएपछि सरकार र कम्पनीबीच विवाद उत्पन्न भएको छ। विगत दुई आर्थिक वर्षमा कुल १ करोड ३६ लाख रुपैयाँ भ्याट तिरेको टिकटकले चालू आर्थिक वर्ष २०८२/८३ मा भने एक पैसा पनि कर बुझाएको छैन। फागुन मसान्तसम्म पनि कर नआएपछि ठुला करदाता कार्यालयले टिकटकका प्रतिनिधि विक्की अग्रवाललाई बोलाएर सोधपुछ गरेको थियो। छलफलका क्रममा अग्रवालले टिकटक एप गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरमार्फत डाउनलोड हुने र ती दुवै कम्पनीले नेपालमा भ्याट तिरिरहेकाले टिकटकले छुट्टै भ्याट तिर्नु नपर्ने तर्क अघि सारेका छन्।

टिकटकको यो तर्कलाई कर प्रशासनले सहजै स्वीकार गरेको छैन। प्रमुख कर प्रशासक केदारनाथ शर्माका अनुसार टिकटकले आफूहरूले विद्युतीय सेवा कर (डिएसटी) तिरिरहेको भए पनि भ्याट आफ्नो दायित्वमा नपर्ने दाबी गरेको छ। कार्यालयले यो दाबीलाई पुष्टि गर्ने आधिकारिक कागजात पेस गर्न टिकटकलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले टिकटकले नेपालमा कुनै स्थानीय कम्पनी दर्ता गरेर कर छल्न खोजेको हो कि भन्नेबारे पनि सुक्ष्म अध्ययन गरेका थिए, तर त्यस्तो कुनै दर्ता फेला नपरेपछि सिधै प्रतिनिधिलाई बोलाएर स्पष्टीकरण सोधिएको हो। अब कम्पनीले बुझाउने कागजात र विद्यमान कानुनको व्याख्याका आधारमा सरकारले थप कदम चाल्ने बताइएको छ।

नेपालमा आर्थिक वर्ष २०७९/८० देखि डिजिटल कर प्रणाली लागू भएयता हालसम्म २१ वटा बहुराष्ट्रिय प्रविधि कम्पनीहरू करको दायरामा आएका छन्। यी कम्पनीहरूबाट हालसम्म १ अर्ब १३ करोड रुपैयाँ भ्याट र ११ करोड ९३ लाख रुपैयाँ डिएसटी संकलन भइसकेको छ। राजस्व बुझाउनेमा मेटा (फेसबुक) सबैभन्दा अगाडि छ भने गुगल दोस्रो स्थानमा रहेको छ। अन्य प्रमुख करदाताहरूमा नेटफ्लिक्स, माइक्रोसफ्ट र अमेजन जस्ता कम्पनीहरू रहेका छन्। टिकटकको यो नयाँ अडानले डिजिटल सेवा प्रदायकहरूको कर निर्धारणमा नयाँ कानुनी चुनौती थपिदिएको छ, जसको समाधानले भविष्यमा अन्य यस्तै एपहरूको कर दायित्व तय गर्नेछ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस