२०८२ चैत्र १३ गते शुक्रवार | 2026 March 27th Friday

विश्व खुसी प्रतिवेदन २०२६: दक्षिण एसियामा नेपाल सबैभन्दा खुसी देश

प्रकाश काफ्ले/काठमाडौ विश्व खुसी प्रतिवेदन २०२६ (World Happiness Report 2026) का अनुसार नेपाल दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा खुसी देश बन्न सफल भएको छ। हालै सार्वजनिक गरिएको यस प्रतिवेदनमा नेपाल विश्वभरका १४० भन्दा बढी देशहरूको सूचीमा ९९ औं स्थानमा रहेको छ। गत वर्ष सन् २०२५ को प्रतिवेदनमा ९२ औं स्थानमा रहेको नेपाल यस वर्ष सात स्थान तल झरेको भए तापनि छिमेकी मुलुकहरू भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको तुलनामा अझै पनि माथिल्लो स्थान सुरक्षित राख्दै क्षेत्रीय रूपमा अग्रस्थानमा कायम रहेको छ।

दक्षिण एसियाका अन्य देशहरूको अवस्था हेर्दा पाकिस्तान १०४ औं, भारत ११६ औं, बंगलादेश १२७ औं र श्रीलंका १३४ औं स्थानमा रहेका छन्। त्यस्तै, युद्धग्रस्त अफगानिस्तान विश्वकै सबैभन्दा कम खुसी देशको रूपमा पुछारमा (१४७ औं स्थानमा) रहेको छ। प्रतिवेदनले कुल गार्हस्थ्य उत्पादन (GDP), सामाजिक सहयोग, स्वस्थ औसत आयु, जीवनको छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको अनुभूति जस्ता ६ वटा मुख्य सूचकहरूका आधारमा देशहरूको वर्गीकरण गरेको हो। नेपालमा विशेषगरी सामाजिक सद्भाव र सामुदायिक सहयोगका पक्षहरूले खुसीको स्तरलाई माथि राख्न मद्दत गरेको विश्लेषण गरिएको छ।

यस वर्ष पनि फिनल्याण्ड लगातार नवौं पटक विश्वकै सबैभन्दा खुसी देश बन्न सफल भएको छ भने आइसल्याण्ड र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस