प्रकाश काफ्ले / काठमाडौं । पोखरास्थित फेवातालमा पानीमा आधारित मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने योजना अहिलेका गृहमन्त्री सुधन गुरूङले अघि सारेको तथ्य खुलेको छ। उनले पोखराकै एक होटल व्यवसायसँग सहकार्य गर्दै ‘वाटर स्पोर्ट्स’ सञ्चालन गर्ने प्रस्ताव तयार पारी महानगरपालिकामा पेश गरेका थिए। महानगरका एक अधिकारीका अनुसार गुरूङको समूहले ‘पावरप्वाइन्ट’ प्रस्तुति मार्फत फेवाताल आफूहरूलाई जिम्मा दिइए विभिन्न जलक्रीडा सञ्चालन गर्ने योजना राखेको थियो। पोखरा महानगरपालिकाले वि.सं. २०७५ मा फेवाताल र बेगनासतालमा सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमार्फत यस्ता गतिविधि सञ्चालन गर्न प्रस्ताव मागेको थियो।
त्यतिबेला विभिन्न पाँच कम्पनीले आवेदन दिएका थिए, जसमा अतिथि रिसोर्ट छनोटमा परेको थियो। महानगरका पूर्व आर्थिक प्रमुख जयराम पौडेलका अनुसार उक्त रिसोर्टको प्रस्ताव स्वीकार गरिएको थियो। रिसोर्टका सञ्चालक मोतिप्रसाद पौडेलले पनि योजना निर्माणमा सुधन गुरूङको टोलीसँग सहकार्य भएको स्वीकार गरेका छन्। उनका अनुसार परियोजनाको अवधारणा, डिजाइन र प्राविधिक पक्ष गुरूङकै टिमले तयार पारेको थियो भने कम्पनीको नाम मात्र रिसोर्टको प्रयोग गरिएको थियो।
उक्त प्रस्तावमा करिब ७५ प्रकारका जलक्रीडा समावेश गरिएका थिए, जसमा क्रुज सञ्चालनदेखि राति पनि तालमा खेल सञ्चालन गर्ने योजना समेटिएको थियो। पोखरामा नयाँ पर्यटन गतिविधि थप्ने उद्देश्यले यो योजना अघि बढाइएको बताइएको थियो
सुधन गुरूङले फेवाताल किनार क्षेत्रमा जग्गा किनेर केही नवीन कार्य गर्ने सोच बनाएका थिए, जसकै आधारमा उक्त साझेदारी योजना बनेको हो।सुधनले त्यतिबेला नै वाटर स्पोर्टस् सञ्चालन गर्न भनेर ताल किनारमा जग्गा किनेका थिए। सोही जग्गा अहिले फेवातालको मापदण्डभित्र पर्ने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी गराएका थिए। पछि सो जग्गा तालको मापदण्डभित्र पर्ने देखिएको थियो। मेयर धनराज आचार्यका अनुसार, आवश्यक परे आफ्नो जग्गा पनि कानुनी प्रक्रिया अनुसार खाली गर्न गुरूङ तयार रहेको बताएका थिए।
यद्यपि, छनोट भइसके पनि महानगर र कम्पनीबीच अन्तिम सम्झौता हुन सकेन। यसको मुख्य कारण स्थानीय डुंगा व्यवसायीहरूको निरन्तर विरोध थियो। उनीहरूले तालमा नयाँ प्रकारका जलक्रीडा सञ्चालनले आफ्नो व्यवसाय प्रभावित हुने भन्दै असहमति जनाएका थिए। अन्ततः सो विरोधकै कारण तत्कालीन नेतृत्वले सम्झौता प्रक्रिया अघि नबढाउने निर्णय गरेको थियो।

