प्रकाश काफ्ले/काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका विषयमा सरकारले सैद्धान्तिक सहमति जनाइसकेको बताएका छन्।

नवौं हिन्द महासागर सम्मेलनका सन्दर्भमा हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन WION सँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देशमार्फत प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्ता पठाएको र त्यसमा  सरकारले सैद्धान्तिक सहमति जनाएको बताएका हुन्। तर उनले भ्रमणको मिति र औपचारिक टुंगो भने अझै नलागेको स्पष्ट पारे।

“हाम्रा प्रधानमन्त्रीले बधाई सन्देशमा निमन्त्रणा प्राप्त गर्नुभएको थियो। प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ। तर मिति र समय हाम्रा संयन्त्रहरूले निर्धारण गर्नेछन्,” मन्त्री खनालले भने। उनका अनुसार चुनावपछि भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वर्तमान प्रधानमन्त्री बालेन शाहसँग कुराकानी गरेका थिए। त्यसपछि दुई देशबीच विभिन्न स्तरमा संवाद हुँदै आएको उनले बताए। मौरिससमा भारतीय विदेशमन्त्रीसँग भएको भेटमा पनि द्विपक्षीय सम्बन्ध र नयाँ सरकारका प्राथमिकताबारे छलफल भएको खनालले उल्लेख गरे।

नेपाल र भारतबीच करिब ४० वटा द्विपक्षीय संयन्त्रहरू रहेको उल्लेख गर्दै उनले हाल आन्तरिक प्राथमिकता तय गर्ने काम भइरहेको बताए।

तर प्रधानमन्त्रीको सचिवालयले भने यस विषयमा अनभिज्ञता जनाएको छ।

“भारत भ्रमणबारे त्यस्तो छलफल भएको हामीले बुझेका छैनौं,” प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताएका छन्।