२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

कङ्ग्रेसनल रिसर्च सर्भिस (सीआरएस) प्रतिवेदन: नेपालको राजनीति ऐतिहासिक मोडमा, बालेन–रास्वपा गठबन्धन ‘म्यारिज अफ कन्भिनियन्स’

काठमाडौँ ।  संयुक्त राज्य अमेरिका को कङ्ग्रेसअन्तर्गत रहेको कङ्ग्रेसनल रिसर्च सर्भिस (सीआरएस) Congressional Research Service (CRS) ले ३१ मार्च २०२६ मा सार्वजनिक गरेको ‘नेपालको संसदीय निर्वाचन’ शीर्षकको प्रतिवेदनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा चित्रण गरेको छ। प्रतिवेदनले फागुन २१ मा सम्पन्न निर्वाचनलाई निर्णायक टर्निङ पोइन्ट अर्थात् महत्त्वपूर्ण मोड मानेको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको उल्लेख छ र बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेको घटनालाई ‘संस्थापनविरोधी विद्रोह’ को परिणामका रूपमा व्याख्या गरिएको छ। तर, बालेन र रास्वपाबीचको गठबन्धनलाई भने CRS ले ‘म्यारिज अफ कन्भिनियन्स’ अर्थात् स्वार्थ प्रेरित गठजोडको संज्ञा दिएको छ।

प्रतिवेदन अनुसार यो परिवर्तन आकस्मिक नभई २०२५ भदौमा भएको युवा आन्दोलनको प्रत्यक्ष परिणाम हो। तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओली सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सुरु भएको आन्दोलन चाँडै देशव्यापी बनेको थियो। ८–९ सेप्टेम्बरमा भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा ७५ जनाको मृत्यु, २ हजारभन्दा बढी घाइते र करिब ८५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ। उक्त आन्दोलनले न केवल ओली सरकार ढाल्यो, बल्कि युवाहरूमा रहेको गहिरो असन्तुष्टि र परम्परागत राजनीतिप्रतिको अविश्वासलाई सतहमा ल्यायो।

आन्दोलनकै दबाबमा के.पी. शर्मा ओलीले ९ सेप्टेम्बर २०२५ मा राजीनामा दिन बाध्य भए। त्यसपछि उत्पन्न शक्ति शून्यताबीच बालेन्द्र शाह ले अन्तरिम प्रधानमन्त्री बन्न अस्वीकार गरेका थिए। त्यसपछि युवाहरूले अनलाइन मतदानमार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई रोजेका थिए र उनी १२ सेप्टेम्बरमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।

CRS ले बालेन्द्र शाह र रवि लामिछाने बीचको सम्बन्धलाई ‘मैत्रीपूर्ण तर सुविधा प्रेरित’ भनेर व्याख्या गरेको छ। स्वतन्त्र छवि बोकेका बालेन र संगठित दल राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेबीचको सहकार्य गहिरो वैचारिक एकताभन्दा बढी चुनावी रणनीतिमा आधारित रहेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले रास्वपालाई पुराना दलप्रति असन्तुष्ट जनतालाई सुशासनको एजेन्डामा एकीकृत गर्ने ‘छाता संगठन’ को रूपमा पनि चित्रण गरेको छ।

त्यस्तै, प्रतिवेदनले बालेन्द्र शाहको कार्यशैलीप्रति मिश्रित टिप्पणी गरेको छ। उनी परम्परागत सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमा निर्भर रहेको, शासन सञ्चालनका स्पष्ट योजनाहरूको अभाव रहेको र उनको ‘पपुलिस्ट छवि’ तथा ‘प्रशासनिक जटिलता’ बीच द्वन्द्व रहेको उल्लेख गरिएको छ। काठमाडौँ महानगरपालिकाका मेयरका रूपमा उनको कार्यसम्पादनलाई पनि मिश्रित को रूपमा मूल्याङ्कन गरिएको छ।

प्रतिवेदनले नेपालको विदेश नीतिबारे पनि टिप्पणी गर्दै बालेन्द्र शाह को नेतृत्वमा नीति ‘व्यावहारिक र राष्ट्रिय स्वार्थकेन्द्रित’ हुने अपेक्षा गरेको छ। साथै नेपाल अहिले चीन र संयुक्त राज्य अमेरिका बीचको रणनीतिक प्रतिस्पर्धाको केन्द्रमा रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालको स्थिरता र कूटनीतिक सन्तुलन अत्यन्त महत्वपूर्ण हुने संकेत गरिएको छ।

कङ्ग्रेसनल रिसर्च सर्भिस (सीआरएस) Congressional Research Service (CRS) अमेरिकी कङ्ग्रेसको निष्पक्ष अनुसन्धान संस्था हो, जसको स्थापना सन् १९१४ मा भएको हो र यो लाइब्रेरी अफ कङ्ग्रेस अन्तर्गत सञ्चालन हुन्छ। यस संस्थाले अमेरिकी सांसदहरूलाई विभिन्न देश र विषयहरूमा तथ्यपरक तथा गैरदलीय विश्लेषण उपलब्ध गराउने गर्छ। समग्रमा, CRS को प्रतिवेदनले नेपालमा देखिएको नयाँ राजनीतिक लहरलाई केवल आन्तरिक परिवर्तन मात्र नभई अन्तर्राष्ट्रिय चासो र शक्ति प्रतिस्पर्धासँग जोडिएको महत्वपूर्ण घटनाक्रमका रूपमा प्रस्तुत गरेको छ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया दिनुहोस