२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अब कर्मचारी सरुवाका सम्पूर्ण प्रक्रिया अनलाइनबाट, २४ घन्टाभित्र निर्णय

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ। मन्त्रालयका अनुसार सरुवा प्रक्रिया कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। व्यक्तिगत तथा सेवासम्बन्धी विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ। सरुवासम्बन्धी आवेदनमा फ्ल्यागिङ प्रणाली रहनेछ जसले दोहोरिने वा विशेष निगरानी आवश्यक पर्ने आवेदन सहज पहिचान गर्न सहयोग गर्नेछ।

कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइन प्रोसेस ट्र्याकिङ प्रणालीमार्फत हेर्न सक्नेछन्। सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन् र निर्णय २४ घण्टाभित्र मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिनेछ। मन्त्री प्रतिभा रावलले पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री प्रशासन निर्माण गर्ने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन्। यसले ढिलाइ घटाउने, पारदर्शिता बढाउने र कर्मचारीलाई सहज सेवा दिने विश्वास व्यक्त गरिएको छ।

 

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस