काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी नेतृत्वविरुद्ध राज्यस्तरबाट भ्रम फैलाउने गतिविधि भइरहेको आरोप लगाएका छन्।
ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गर्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङसँग एमालेले “एक–एक हिसाब राखेको” चेतावनी दिए।
बस्नेतले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण आरोप लगाइएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले बालेनलाई मालपानी विवादमा संलग्न भएको र सुधनलाई शेयर कारोबारमा जोडिएको आरोपसमेत लगाए।
उनले भदौ २३–२४ का घटनामा ‘डिस्कोर्ड च्यानल’, ‘वी आर नेपाली’, ‘बारबरा फाउण्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता समूह प्रयोग गरेर नेपालमाथि आक्रमण भएको दाबी गरे। सिंहदरबार, संसद, सर्वोच्च अदालतदेखि निजी उद्योग जलाइएको घटनामा संलग्नहरू आज सत्ताको छायामा संरक्षित रहेको आरोप बस्नेतले लगाए।

