२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

सिक्काबाट चुच्चे नक्सा हटाएर अमेरिकी सहयोग प्राप्त गुम्बाको नक्सा राख्ने बालेन सरकारको निर्णय

काठमाडौं । बालेन सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकमार्फत नेपाल राष्ट्र बैंकलाई १ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति दिएको छ। यस निर्णयसँगै सिक्कामा रहेको चुच्चे नक्सा हट्ने चर्चा चलेको छ र आलोचना भइरहेको छ। स्रोतका अनुसार नयाँ सिक्कामा चुच्चे नक्साको सट्टा मुस्ताङको सातौँ शताब्दीमा बनेको लो घ्याकर गुम्बा अंकित गरिनेछ। गुरु पद्मसम्भवले निर्माण गरेको मानिने यो गुम्बा नेपालकै सबैभन्दा पुरानो गुम्बा हो।

२०७८ सालमा संविधानअनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको चुच्चे नक्सा भएको सिक्का सार्वजनिक गरिएको थियो। करिब पाँच वर्षपछि यो हट्ने भएको छ। गुम्बा ऐतिहासिक भए पनि यसको पुनर्निर्माणमा अमेरिकी सहयोग जोडिएपछि सिक्कामा राख्न लागिएको चित्रलाई भूराजनीतिसँग जोडेर विरोध भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउन इन्कार गरिरहेको अवस्थामा सिक्काबाट नक्सा हटाउने निर्णयलाई आलोचना गरिएको छ।

 

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस