२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

अन्तराष्ट्रिय प्रोटोकल विपरित यूएनको कार्यक्रममा मन्त्रीले नीजि सचिव अमेरिका पठाए, सचिवहरु असन्तुष्ट

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन्। असार ३१ देखि साउन २ गतेसम्म भएको कार्यक्रममा पाण्डे सहभागी भई फर्किसकेका छन्। यसअघि यस्ता कार्यक्रममा मन्त्रीसँगै मन्त्रालयका सचिव सहभागी हुने परम्परा थियो। तत्कालीन मन्त्री प्रकाशमान सिंह, सीता गुरुङ, सचिव मणिराम गेलाल, रवीन्द्रनाथ श्रेष्ठ, डा. रमेशसिंहलगायतले विगतमा यस्तै कार्यक्रममा भाग लिएका थिए।
मन्त्रीले सचिवालयका सचिवलाई पठाएपछि मन्त्रालयका कर्मचारीबीच असन्तुष्टि बढेको छ। कर्मचारीहरूले यस्तो कार्यक्रममा मन्त्रालयका उच्च अधिकारीले जानुपर्ने भन्दै आलोचना गरेका छन्। पाण्डेले भने आफू मन्त्रीको सिफारिसमा प्रोटोकल मिलाएर अमेरिका गएको स्पष्ट पारे। पाण्डे असार दोस्रो साता मन्त्रीको सचिवालयमा सचिवसरह नियुक्त भएका हुन्।
मन्त्रिपरिषद्ले पारित गरेको ‘मन्त्रीहरूको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि–२०८३’ अनुसार मन्त्रीहरूले सचिवालयमा सचिवसरहका सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था छ। कार्यविधिअनुसार ऊर्जा, जलस्रोत, पूर्वाधार विकास, कृषि, वन तथा वातावरण मन्त्रालयमा पाँचजना र अन्य मन्त्रालयमा तीनजना सचिवसरहका सल्लाहकार नियुक्त गर्न सकिन्छ। यसरी कुल २१० जना स्वकीय सदस्य मन्त्रीहरूको सचिवालयमा रहने व्यवस्था गरिएको छ। यद्यपी अन्तराष्ट्रिय एजेन्सीहरुले राजनीतिक नियुक्त हुने कर्मचारीतन्त्रलाई प्रोटोकलमा स्वीकार गर्दैन ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस