२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अहंकारले प्रधानमन्त्रीलाई कहीँ पुर्‍याउँदैन भन्दै प्रचण्डले हिटलरको आत्महत्यासँग जोडे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित भई वर्तमान राजनीतिक अवस्था र उठेका प्रश्नबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले संसद्को सम्मान गर्दै लोकतान्त्रिक परम्परा पालना गर्नुपर्ने बताए। सभामुखलाई पनि प्रधानमन्त्रीलाई सदनमा ल्याउन पहल गर्नुपर्ने धारणा राखे।

प्रचण्डले भने – “प्रधानमन्त्री संसद्मा आएर बोल्दा उहाँको उचाइ बढ्छ। नेपाल सफल राष्ट्र बन्ने कि असफल, त्यसको जिम्मेवारी अहिले प्रधानमन्त्रीकै काँधमा छ।” उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकार्य अघि बढाएको उल्लेख गर्दै संवाद र सहकार्यबाटै मुलुकका समस्या समाधान गर्नुपर्ने बताए। प्रधानमन्त्रीलाई अनुभवी नेतासँग छलफल गर्न आग्रह गर्दै उनले प्रतिपक्षको अपमान र जनताको बेवास्ता गर्ने प्रवृत्तिले देशलाई अप्ठ्यारोमा पार्ने चेतावनी दिए।

प्रचण्डले बहुमतको दम्भ देखाउनु हुँदैन भन्दै भने – “प्रधानमन्त्रीले घमण्ड र अहंकार देखाएर कहीँ पुग्दैनन्। अहिले जनतामा निराशा र अपेक्षा दुवै छन्, हामीले उत्प्रेरित गर्नुपर्छ।” सम्बोधनमा उनले दोस्रो विश्वयुद्धपछि जर्मनीका तानाशाह एडोल्फ हिटलरको आत्महत्याको प्रसंग उल्लेख गर्दै कठिन परिस्थितिमा जिम्मेवारीबारे निर्णयको महत्व जोड दिए।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस