जनकपुरधाम – संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुनः वार्ता सम्पन्न भई १८ बुँदे मागपत्रमा मौखिक सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङसँग जनकपुरस्थित यात्री निवासमा भएको छलफलमा अघिल्लो १३ बुँदालाई स्पष्ट पार्दै थप विषयहरू समेटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिए।
मोर्चाले गृहमन्त्रीलाई मागपत्र पेश गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। गृहमन्त्रीले प्रदर्शनका क्रममा बल प्रयोग नगर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी पक्ष सन्तुष्ट भएको उपाध्यक्ष कृष्ण सनातनीले बताए।
शनिबार राति पेश गरिएको १३ बुँदे मागपत्रमा हिन्दू राष्ट्र कायम गर्ने, धार्मिक स्थलमा हतियार प्रदर्शन नियन्त्रण गर्ने, ध्वनि विस्तारक उपकरणको प्रयोग सीमित गर्ने, विदेशी नागरिकको निगरानी गर्ने, सामाजिक सञ्जालमार्फत द्वेष फैलाउने व्यक्तिमाथि कानुनी कारबाही गर्ने लगायतका मागहरू समावेश थिए।
पुनः वार्तामा यी मागहरू सच्याएर थप बुँदा जोडिँदै १८ बुँदा पुर्याइएको छ। यससँगै हिन्दू मोर्चाले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित र फिर्ता लिने निर्णय गरेको छ।
प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार

