२०८३ भाद्र ३ गते बुधवार | 2026 August 19th Wednesday

जेन जीको नयाँ लत : मदिरा मात लिन नियमित एङजाइटी औषधि !

काठमाडौं । बीबीसी विश्व सेवाको रिपोर्ट अनुसार चीनकी २० वर्षीया मेईले सामाजिक भेटघाटमा आत्मविश्वास बढाउन ‘प्रिग्याबलिन’ र ‘बेटा ब्लकर’ जस्ता औषधि गैरकानुनी रूपमा प्रयोग गर्न थालेकी छन्। सुरुमा साथीहरूसँग बाहिर जाने रातमा मात्र सेवन गर्ने यी औषधि अहिले उनको दैनिक जीवनको हिस्सा बनेका छन्।

विशेषज्ञहरूले चिकित्सकीय निगरानीबिना यस्ता औषधि सेवन खतरनाक हुने चेतावनी दिएका छन्। लामो प्रयोगले निर्भरता बढ्ने, औषधि छोड्दा बढी चिन्ता, अनिद्रा र आत्महत्यासम्बन्धी विचारसम्म आउन सक्ने जोखिम बताइएको छ।

‘नेचर कम्युनिकेशन्स’ अध्ययनले २००८–२०१८ बीच प्रिग्याबलिनको विश्वव्यापी खपत चार गुणा बढेको र दुरुपयोगसँगै मृत्यु दर पनि बढेको देखाएको छ। चीन, भारत, जोर्डन र युक्रेनले यसमा कडा नियन्त्रण सुरु गरिसकेका छन्।

सामाजिक सञ्जालमा हजारौँ पोस्टमार्फत् औषधि सजिलै उपलब्ध हुने भएकाले युवाहरूलाई ‘स्ट्याकिङ’ अर्थात् मिश्रण बनाउन प्रोत्साहित गरिन्छ। यसले ‘सोबर पुस्ता’ भनिने जेन जीलाई मदिराभन्दा सुरक्षित विकल्पजस्तो देखिए पनि वास्तविकता खतरनाक छ।

विशेषज्ञहरूले चेतावनी दिएका छन् – मदिरा जस्तै औषधि पनि नि:शुल्क खाने कुरा होइन। उच्च मात्रामा सेवन गर्दा श्वासप्रश्वास सुस्त हुने, मुटुको गति खतरनाक रूपमा घट्ने र ज्यानै जोखिममा पर्न सक्ने अवस्था आउन सक्छ।

 

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस