२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

विनाशकारी बाढीको कारण वर्षा नभएको मौसमविदको दाबी, खुलाए यो कारण

काठमाडौं । तिब्बत हुँदै भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढी सामान्य वर्षाका कारण मात्रै आएको नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् मिनकुमार अर्यालका अनुसार रसुवा क्षेत्रमा मंगलबार रातिदेखि बुधबार बिहान ८ बजेसम्म ७ मिलिमिटरभन्दा बढी वर्षा भएको छैन। सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा भने राति केही स्थानमा भारी वर्षा भएको उनले बताए।

भोटेकोशीको जलाधार क्षेत्रसँग जोडिएको तिब्बततर्फ पनि भारी वर्षा भएको जानकारी प्राप्त भएको अर्यालले बताए। यसबारे चीनतर्फका सम्बन्धित निकायसँग समेत कुराकानी भइरहेको उनले जानकारी दिए। तर, भोटेकोशीमा आएको बाढीको प्रकृति हेर्दा वर्षाका कारण मात्रै यति ठूलो बाढी आएको हुन नसक्ने मौसमविद् अर्यालको भनाइ छ। उनका अनुसार बाँध फुटेको, ठूलो हिमपहिरो गएर नदी थुनिएको वा हिमनदीको कुनै भाग फुटेर केही समय नदीको बहाव रोकिएपछि एक्कासि पानी बगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

उनले भने, ‘अहिले नै ठ्याक्कै यही कारण हो भनेर भन्न सकिने अवस्था छैन। सम्भावित कारणबारे अध्ययन भइरहेको छ।’ बाढीको वास्तविक कारण पत्ता लगाउन नेपाल र चीनतर्फको अवस्थाबारे थप जानकारी आवश्यक रहेको विभागले जनाएको छ। घटनास्थलतर्फका बाटो तथा सम्पर्क अवरुद्ध भएकाले स्थलगत विवरण प्राप्त गर्न कठिनाइ भइरहेको छ। बाढीका कारण नदी किनारमा राखिएका जलसतह मापन गर्ने सेन्सर तथा अन्य मौसमी उपकरणसमेत बगेका छन्। बिहान करिब ८ बजेपछि ती उपकरणबाट थप विवरण प्राप्त हुन नसकेको अर्यालले बताए।

अब घटनाको कारणबारे भू–उपग्रहबाट प्राप्त तस्वीर तथा अन्य स्रोतबाट थप विश्लेषण गरिने विभागले जनाएको छ। स्थानीय बासिन्दाबाट प्राप्त सूचना तथा तस्वीरहरू पनि संकलन भइरहेको बताइएको छ। बुधबार बिहान भोटेकोशीमा भीषण बाढी आउँदा रसुवा, नुवाकोट, धादिङ, चितवनमा ठूलो क्षति भएको छ ।

 

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस