काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोले बाटो अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा रिफिल गरिएका सिलिण्डर काठमाडौँ ल्याएको छ। पछिल्लो पाँच दिनमा उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर बिक्री भएको निगमले जनाएको छ। सोमबार ४८ हजार १०९, मंगलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र शुक्रबार ४० हजार ६३६ सिलिण्डर बिक्री भएको तथ्यांक छ।
निगमले भदौ १४ देखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकका उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रिफिल गरेर ल्याउने व्यवस्था मिलाएको हो।
पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास आपूर्ति निरन्तर हुने निगमले स्पष्ट पारेको छ। तरपनि उपभोक्ताले ग्यास छैन नै भनिनु, चाडपर्वलाई भन्दै एकै परिवारले धेरै ग्यास थुपारिरहेको निगमको बुझाई छ । यसो नगर्न निगमले भनेको छ । अनावश्यक राख्दा दुर्घटना हुनेतर्फ सचेत गराउँदै नेपालमा तत्काल ग्यास अभाव हुने अवस्था नरहेको दाबी गरेको छ ।

