काठमाडौं । काठमाडौंको वीर अस्पतालमा ४७ वर्षीया रिता देवीको मस्तिष्कमा सातवटा एनेरिज्म भेटिए, जसमा एउटा फुटिसकेको थियो। न्युरोसर्जन प्रा. डा. राजीव झाको नेतृत्वमा सात घण्टा लामो शल्यक्रियामा एउटै करिडोर प्रयोग गरी दुवैपट्टि रहेका ६ एनेरिज्म क्लिपिङ गरेर बन्द गरियो। यो नेपालमै पहिलोपटक भएको दुर्लभ शल्यक्रिया हो। चिकित्सक टोलीले जोखिम मोलेर अपरेशन गरे पनि बिरामी अहिले होसमा छिन्, बोलिरहेकी छिन् र खाना खाइरहेकी छिन्।
एनेरिज्म भनेको रक्तनलीको भित्तामा कमजोरी आएर असामान्य रूपमा फुल्ने अवस्था हो। फुटेपछि मस्तिष्कमा रक्तस्राव भई मृत्यु वा दीर्घकालीन स्नायु समस्या हुने खतरा हुन्छ। यस केसमा सातवटा एनेरिज्म भेटिनु नै असामान्य थियो, जसलाई एउटै शल्यक्रियामा व्यवस्थापन गर्नु चिकित्सकीय उपलब्धि मानिएको छ।
प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार

