काठमाडौं । एमाले र नेकपाबीच फेरि एकताको बहस सुरु भएको छ। शीर्ष नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकार्यका लागि सकारात्मक देखिएसँगै नयाँ संरचनामा एमाले अध्यक्षका रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारी र महासचिवमा वर्षमान पुनलाई अघि सार्ने विकल्पमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ।
एमाले सचिव शेरधन राई र वर्षमान पुनको भेटपछि सहकार्यको चर्चा तीव्र बनेको हो। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको पहलमा समेत नेताहरूबीच छलफल भएको बताइएको छ। पुनले एमालेसँग सहकार्यको कोणबाट छलफल सुरु भएको स्वीकार गर्दै मध्यम तहमा थप छलफल हुन बाँकी रहेको बताए। प्रस्तावित मोडालिटीमा ओली र प्रचण्डलाई कार्यकारी नेतृत्वबाट बाहिर राखी सल्लाहकार भूमिकामा राख्ने र नयाँ महाधिवेशनतर्फ जाने विकल्पमा बहस भइरहेको छ।
२०७४ को वाम गठबन्धन र २०७५ को नेकपा एकताको अनुभवपछि आगामी प्रदेश तथा स्थानीय चुनावलाई लक्षित गर्दै सहकार्यको गृहकार्य अघि बढेको हो। हाल कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाको नेतृत्वमा प्रदेश सरकार सञ्चालन भइसकेको छ ।

