काठमाडौं । नेपाली बजारमा चालु साता सुनको मूल्यमा उतारचढाप आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्ला दिन घटेको सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै शुक्रबार छापावाल सुनको मूल्य ३ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ ।
साताको पहिलो दिन आइतबार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार, मंगलबार र बिहीबार तीन दिन ओरालो लागेको थियो भने बुधबार र शुक्रबार पुनः उकालो लागेको हो । बिहीबार २ हजार ३०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँमा झरेको थियो । बुधबार १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ९०० रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँ थियो ।
सोमबार १ हजार २०० रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँ रहेको सुनको मूल्य आइतबार १ हजार २०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य ६० रुपैयाँ घटेर ४ हजार ६२५ रुपैयाँ थियो । बुधबार ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ थियो । सोमबार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ थियो ।

