२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

कञ्चनपुरमा १६ वर्षीय किशोर अपहरण गरी कुटपिट, पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–९ रतनपुरका ती किशोरलाई असोज २३ गते दिउँसो करिब ४ बजे ‘एकछिन काम छ’ भन्दै केही किशोरले जबर्जस्ती स्कुटरमा राखेर खजुवा जंगल लगेका थिए ।

जंगलमा पुरानो रिसइबीका कारण किशोरलाई बन्धक बनाएर कुटपिट गर्नुका साथै खुकुरी देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी भिडियोसमेत सार्वजनिक भएको छ ।

किशोरकी आमा जानकी अवस्थीले घटनाबारे इलाका प्रहरी कार्यालय बेलडाँडीमा मौखिक जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोप लागेका २४ वर्षीय लक्ष्मण भण्डारी भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको स्कुटर र खुकुरीसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका पाँचै जनामाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका आरोपितमाथि अनुसन्धान गर्न अदालतबाट १४ दिनको म्याद थप गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस