२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

बालेन फर्किए लगत्तै भारतका विदेश सचिवले भने लिपुलेक भारत र चीनको नाका हो, नेपालले कुनै दाबी गरेन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा दुई देशबिच कुनै छलफल नभएको, नेपालको तर्फबाट आधिकारीक रुपमा आफ्नो दाबीपनि नगरेको भारतीय विदेश सचिव विक्रम मिश्रीले स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहको राजकीय भारत भ्रमण सम्पन्न भएलगत्तै भारतीय विदेश मन्त्रालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा सचिव मिश्रीले उक्त जानकारी दिएका हुन्।

भारत र चीनबिच लिपुलेक नाका हुँदै हुने व्यापारमा नेपालले जनाएको आपत्तिबारे प्रधानमन्त्री शाहले कुरा उठाए कि उठाएनन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा सचिव मिश्रीले लिपुलेकको विषय नउठेको र दुई पक्षबिच यसबारे कुनै कुराकानी नभएको बताए। बरुमिश्रीले लिपुलेक भारत र चीनबिचको नाका रहेको र लामो समयदेखि दुई देशबिच व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको उल्लेख गर्दै अहिलेको यथार्थ यही हो भनी भारतको पुरानै अडान दोहोर्‍याए।

यति मात्र हैन ईपीजीको प्रतिवेदनको सान्दर्भिकता नै सकिएको समेत बताए । सोही पत्रकार सम्मेलनमा सीमा व्यवस्थापन र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे सोधिएको प्रश्नमा उनले ईपीजी प्रतिवेदन विगतको विषय भइसकेको र यसको सान्दर्भिकता सकिएको टिप्पणी गरे। ईपीजी प्रतिवेदन त्यस्तो प्रतिवेदन हो जुन दुबै देशका प्रबुद्ध व्यक्तिहरुको समूह बनाएर नेपाल भारतको सीमा विवाद अन्त्यको जिम्मेवारी थियो । प्रतिवेदनले भारतले नेपालको भूमि मिचेको देखि १९५० देखि यताका धेरै सन्धिहरु असमान रहेको ठहर गर्दै पुर्नलेखन गर्न सुझाव दिएको थियो ।

भारतले अहिलेको नयाँ सरकार आएपछि दुई देशबिचको सीमा व्यवस्थापनका लागि फिल्ड सर्भे टोली, वरिष्ठ अधिकारीहरूको समिति र सीमा कार्यदल जस्ता बहुस्तरीय संयन्त्र सक्रिय रहेको र संयुक्त भिजन डकुमेन्टको भावनाअनुसार अघि बढ्ने सहमति भएको दाबी गरेको छ ।

 

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस