
सिरहा । नेपाली कांग्रेसका वौद्धिक नेता भनेर चिनिएका केन्द्रीय सदस्य प्रदीप गिरी सिरहा १ मा विजयी भएका छन् । उनी २३९५१ मतसहित विजयी भएका हुन् । उनले नेकपा एमालेका निर्वतमान उपसभामुख गंगाप्रसाद यादव लाई पराजित गरेका हुन्। यादवले २१३७५ मत पाए। प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप गिरी १८ वर्षपछि प्रत्यक्ष चुनाव लड्न मैदानमा उत्रिएएका थिए । यसले सिराहामा मात्र हैन राष्ट्रिय रुपमा नै रौनक थपियो । मधेस आन्दोलनको उद्गम थलो मानिने लाहानलाई समेत समेटिएको सिराहा क्षेत्र नम्बर १ मा गिरी विजयी बने । १८ वर्षअघि ०५६ सालमा एमालेका धर्मनाथ साहसँग सिरहा ५ मा पराजित भएयता गिरी प्रत्यक्ष चुनाव लडेका थिएनन् । ०४८ सालदेखि लगातार ५ पटक कांग्रेस नेता पद्मनारायण चौधरीले प्रतिस्पर्धा गरेको क्षेत्रमा यसपटक गिरीको प्रवेश गरे । सिराहाका ४ वटा निर्वाचन क्षेत्रमध्ये धेरैको चासो क्षेत्र नम्बर १ नै भएको थियो ।
किनकी उनका प्रतिस्पर्धी एमालेका युवा नेता गंगाप्रसाद यादव र पूर्वमन्त्री तथा फोरम नेता राजलाल यादवसँग कांग्रेस नेता गिरीको त्रिपक्षीय प्रतिस्पर्धा भयो । प्रदीप गिरीको घर पनि यही क्षेत्रमा रहेकाले प्रतिस्पर्धा रोचक देखियो । लहानका कारण हरेक आन्दोलनमा चर्चाको शिखरमा रहने सिराहाको क्षेत्र नम्बर १ मा प्रायः संसदीय चुनावमा कांग्रेसका पद्मनारायण चौधरीले जित्दै आएका थिए । तर, स्थानीय चुनावमा लहानसहित यो क्षेत्रका केही स्थानीय तहमा एमालेले जितेको छ । एमालेमा माओवादी पनि थपिएका कारण यहाँको चुनावी प्रतिस्पर्धा पेचिलो बन्यो । विगतका चुनावमा सिराहाको अन्य क्षेत्रबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई बलिया उम्मेद्वारका रुपमा कांग्रेसले सिरहा क्षेत्र नम्बर १ मा उतारेको थियो । सधैं चुनाव लडेका चौधरी यसपटक समानुपातिकमा बसेका छन् । वामपन्थी र मधेसवादी गठबन्धनबाट दुवै उम्मेदवार यादव भएकाले जातीय मत विभाजनको फाइदा लिने दाउमा कांग्रेस देखिन्थ्यो ।
यसअघि सिराहाको दुई नम्बर क्षेत्रबाट चुनाब लड्दै आएका फोरम नेपालका नेता राजलाल यादव पनि आफ्नो बलियो पकड खोज्दै १ नम्बर क्षेत्रमा आएका थिए । राजलाल यादव मधेसवादी गठबन्धनका साझा उम्मेदवार भएकाले उनी बलिया प्रतिस्पर्धी मानिएका थिए । तर गिरीसँग गंगाप्रसाद र राजलाल दुवै पछारिए । एमालेका उम्मेदवार गंगा प्रसाद यादव राष्ट्रिय राजनीतिमा परिचित नभए पनि स्थानीय स्तरमा परिचित अनुहार हुन् । उनी एमालेका केन्द्रीय सदस्य पनि हुन् । सिराहाको लहान नगरपालिका साबिक बस्तीपुर १३ का स्थायी बासी प्रदीप गिरी र सोही ठाँउका वडा नम्बर १४ नम्बरका गंगाप्रसाद यादब चुनावी प्रतिस्पर्धा उत्रिएपछि चुनावी रौनक थियो । सिराहा १ को चुनाव मूलतः त्रिपक्षीय प्रतिस्पर्धा आँकलन गरिएको थियो । त्यस्तै भयोपनि ।
प्रदीप गिरी राष्ट्रियस्तरमा जति चर्चित छन्, स्थानीयस्तरमा पनि उनी चर्चित नेता नै हुन् । मधेस आन्दोलनका बेला उनको भूमिका आन्दोलनकारीको पक्षमा थियो । त्यो भावनात्मक मत पनि तान्ने उनको योजना रहेको अहिले बुझिएको छ । ६८ वर्षीय गिरी कांग्रेस राजनीतिसँगै देश र विदेशमा समाजवादी चिन्तक र बौद्धिक नेताका रुपमा चिनिन्छन् । गिरी २०५१ को आम निर्वाचनमा सिराहाको क्षेत्र नम्वर ५ बाट प्रधिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभासद भए । प्रदीप गिरीे अधिकांश समय काठमाडौंमा बस्छन् ।
उनले आफू काठमाडौं बसे पनि मधेसी जनताको हक र अधिकारको कुरा सबैभन्दा बढी आवाज आफूले उठाएकाले मधेसी जनताले जिताउने व्यक्तित्व हुन् । मधेसी, महिला, जनजाती, दलितका मुद्दा आफूले नै पहिलोपटक कांग्रेसभित्र प्रवेश गराएको कुरा मधेसी जनताले बुझेको उनको दाबी छ । संविधानमा हस्ताक्षर नगरेको सन्दर्भमा पनि उनले स्पष्टीकरण दिँदै हिडेका छन् । गिरीले भन्ने गरेका छन् ‘मधेसी जनताले उठाएको मागको उपेक्षा गरेर पारित गरेको संविधानमा मैले दस्तखत नगरेको सत्य हो । मैले मधेसीको माग उठाएर संसद बहिस्कार गरेको छु, यो कुरा मधेसी जनताले बुझेका छन् ।’ पहिला सिराहाको ४ नम्बर क्षेत्रबाट प्रदीप गिरीको नाम जिल्लाबाट सिफारिसमा परेको थियो । तर, गिरीले एकाएक १ नम्बर क्षेत्रबाट उम्मेद्वारी दिए । सिराहा ४ माओवादीको पकड क्षेत्र मानिन्छ ।
संघीय समाजवादी फोरम नेपालका नेता राजलाल यादवपनि तत्कालीन ईनर्वा गाँउ पञ्चायतका अध्यक्ष हुन् । सिराहा जिल्ला सभापति र ०६४ सालको संविधानसभा निर्वाचनमा सिराहाको २ नम्बर क्षेत्रबाट उनी बिजयी भएका थिए । भरखरै सम्पन्न संविधान सभा निर्वाचनमा उनी भगवानपुर गाउँपालिका वडा नम्बरबाट ३ बाट वडा सदस्यमा पनि बिजयी भएका थिए । वडा सदस्यमा चुनाव जिते पनि जिल्ला सभापति हुने सम्भावना नदेखेपछि उनी राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिन आए ।
जनपक्षीय उम्मेदवारको तर्फबाट ०४३ सालमा बस्तीपुरको उपप्रधान पञ्च र ०५४ सालमा एमालेबाट बस्तीपुर गाविस अध्यक्षमा निर्वाचित भएका गंगाप्रसाद यादव स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् । प्रदीप गिरी पनि बस्तिपुरकै हुन् । पछिल्लो पटक ०६४ सालको पहिलो संविधान सभा सदस्यमा सिरहा क्षेत्र नम्वर १ बाट पराजित उनै यादव यसपटकको प्रतिनिधि सभामा वाम गठबन्धन अन्तर्गत एमालेबाट उम्मेदवार बनेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनले एमाले परित्यागको घोषणा गरेका थिए तर उनी पुनः एमालेमै क्रियाशील भए । उनी गाउँघरमै बस्ने सादगी नेताका नामले पनि परिचित छन् । त्यसो त प्रदीप गिरी पनि सादगी नेता का रुपमा यहाँ चर्चित छन् । यसपटक सिराहा क्षेत्र नंम्बर १ बाट निवर्तमान साँसद तथा पूर्व सामान्य प्रशासन मन्त्री रामचन्द्र यादवलाई एमालेले उम्मेदवार बनाउने चर्चा चलेको थियो । तर, अन्तिममा आएर गंगाप्रसाद यादवलाई पार्टिले टिकट दियो । रामचन्द्रले अशन्तुष्टि जनाए पनि उनी गंगा जिताउने अभियानमा हिँडेका थिए । तर गंगा पराजित भए ।