government school Nepal

काठमाडौँ । हामी सरकारी स्कुल भन्नासाथ नाक खुम्च्याउछौ । अधिकांश हेर्दा त्यस्तैपनि छन् । निजी विद्यालयको हालिमुहाली रहेको काठमाडौँमा केही सामुदायिक विद्यालय पनि निजीकै हाराहारीमा उत्कृष्ट नतिजा दिन सफल रहेका छन्। सख्यात्मक हिसाबले एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा दुई सय ८५ सामुदायिक विद्यालय रहेका छन्।

दुई सय ८५ मा पनि केही विद्यालयमात्र निजीसँग प्रतिस्पर्धा गर्न सक्नेगरी उत्कृष्ठ कहलिएका छन्। प्रधानाध्याक, शिक्षक र अभिभावकको लगनशीलता एवं सक्रियताले केही विद्यालय अब्बल कहलिएका हुन्।

रत्नराज्य मावि मध्यबानेश्वर, ज्ञानोदय मावि कलङ्की, निलवराही मावि कालिमाटी, विश्वनिकेतन मावि त्रिपुरेश्वर, गीतामाता मावि डल्लु, जनसेवा मावि, कीर्तिपुर, मङगलोदय मावि थानकोट, विजय स्मारक मावि, डिल्लीबजार, पद्मोदय मावि पुतलीसडक, तरुण मावि बालाजुलगायत विद्यालय सामुदायिकका राम्रा विद्यालयअन्र्तगत पर्दछन्। ती विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको उत्रीर्ण प्रतिशत ९६ देखि १०० सम्म छ। वैशाखको पहिलो हप्ताबाट हुने विद्यार्थी भर्ना कार्यक्रममा अधिकांश विद्यालय विद्यार्थी भर्ना गर्न घरदैलो कार्यक्रम गरेपनि त्यस्ता अब्बल विद्यालयमा भर्ना अभियान नै नगरी पढ्नका लागि विद्यार्थीको भीड देखिएको छ। जसका कारण विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन थालेका छन्। विद्यालयमा विद्यार्थीको आकर्षण भएपछि विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता ती विद्यालयलाई छ।

निजी जस्तै अङ्गेजी माध्यममा पढाउने हुने ती सामुदायिक विद्यालयमा विद्यार्थी प्रवेश परीक्षा उर्तिण गरेपछि मात्र भर्ना पाउँछन्। ‘धेरै विद्यार्थी आउन थालेपछि केही वर्षदेखि हामीले प्रवेश परीक्षा लिन थालेका छौँ’, रत्नराज्य माविका प्राधानाध्यापक डा। गीता खरेल भनिन, ‘प्रवेश परीक्षामा उत्तिण गर्नेलाई मात्र विद्यालयमा भर्ना गर्दछौँ।’ यो विद्यालयले कक्षा एकदेखि ७ सम्म तीनवटा र कक्षा ८ देखि १० सम्म चार अतरिक्त कक्षा सञ्चालन गर्दै आएको छ । करिब २१ सय विद्यार्थी रहेको उक्त विद्यालयमा सवैभन्दा बढी निजी विद्यालयबाट विद्यार्थी भर्ना गर्न आउने गरेको उनी उनको भनाईछ ।

सामुदायिक स्कुलमा राम्रो पहिचान बनाउन सफल रत्नराज्य निजी विद्यालयको जस्तै कक्षा ३ बाट नै कम्प्युटर शिक्षा, शान्त वातावरण, अनुशासन भएकोले धेरै अभिभावकको रोजाइ हुने गरेको छ। पूर्णतया निःशुल्क पढाइ हुने रत्नराज्यमा कम्प्युटर कक्षाको भने ५० देखि सय लिने गरिएको छ। कलङ्कीस्थित ज्ञानोदय माविमा पनि भर्ना अभियान सञ्चालन गरी नयाँ शैक्षिकसत्रमा विद्यार्थी पढ्नका लागि भीड हुने गरेको छ। विद्यार्थीको अत्यधिक चाप भएकाले विद्यालयले प्रवेश परीक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जन बताउछन्।

कक्षा १ देखि १० सम्म अङ्गे्रजी माध्यममा पढाइ हुने ज्ञानोदयको पढाइको गुणस्तर राम्रो भएकाले विद्यार्थीको चाप छ। ज्ञानोदयमा माथिल्लो कक्षामा बढी विद्यार्थीको चाप हुने गरेको छ। कक्षा ७ देखिमाथि निजी विद्यालयबाट विद्यार्थी आउने गरेको महर्जन बताउछन्। विद्यालयमा अघिल्लो वर्ष कक्षा ९ मा सिभिल इन्जिनियरिङ विषयको पढाइसमेत हुने गरेको छ। ‘सक्ने अभिभावकले मासिक तीन सय रुपैयाँ दिनुहुन्छ’, उनले भने, ‘तर नसक्ने जति विद्यार्थीलाई निःशुल्क भर्ना गर्छौं र उसलाई आवश्यक कापी, कलम, झोला किन्ने उल्टो पैसा दिन्छौँ।’ कालीमाटीस्थित नीलबराही माविले सोमबारबाट प्रवेश परीक्षाका लागि फारम वितरण गरेको र वैशाख ४ गते परीक्षा तोकेको छ। विद्यालयकी प्रधानाध्यापक जानुका नेपाल आफूहरु सरकारलाई विद्यालय भर्नामा सहयोग पु¥याउन अभियान सञ्चालन गर्ने बताउछिन। ‘हामीले हाम्रा विद्यालयका लागि भर्ना अभियान गरेर विद्यार्थी खोज्नु पर्दैन’, उनी भन्छिन्, ‘सरकारलाई सहयोग गर्न अन्य विद्यालयमा विद्यार्थी भर्ना गराउनका लागि अभियान सञ्चालन गर्दछौँ।’

कक्षा १ देखि कक्षा ८ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने नीलबराहीले आगामी वर्षमा कक्षा ९ मा पढाइ गर्ने उनले जानकारी गराए। ज्ञानोदय स्कुलका २० वर्षदेखि कार्यरत पूर्वप्रधानाध्यपक धनञ्जय शर्मा अभिभावकसँग बालबालिकाको पढाइका बारेमा छलफल गर्ने र ती छलफलबाट आएका सुझावका आधारमा प्रधानाध्यापक र शिक्षकले मिहेनत गरे सामुदायिकको पनि पढाइ गुणस्तर बनाउन सकिने बताउछन्। कीर्तिपुरको जनसेवा माविका शिक्षक चन्द्र बानियाँ प्रवेश परीक्षाले सामुदायिक विद्यालय सुधारमा सहयोग पुग्ने बताउँदै शिक्षक र अभिभावकको सक्रियता हुने हो भने यी विद्यालयमा विद्यार्थीको चाप अझ बढ्ने धारणा राख्छन्।

सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ । सरकारी विद्यालयमा पढेका विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धा गर्न सक्दैनन् भन्ने अभिभावकको मानसिकता समयसँगै विस्तारै परिवर्तन हुँदै गएको छ । संकटपूर्ण अवस्थामा पनि ललितपुर, भक्तपुर र काठमाडौंका केही सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याई अब्बल देखाउन सफल भएकाले अहिले अभिभावक राम्रा सामुदायिक विद्यालय खोज्दै हिँड्न थालेका छन । उपत्यकाका ३ जिल्लामा सञ्चालनमा रहेका एक दर्जनभन्दा धेरै सामुदायिक विद्यालयले हरेक वर्षको एसएलसीमा सतप्रतिशत उत्तीर्ण गराउन सफल हुँदै आएका छन् ।

उपत्यकामात्र होइन, उपत्यका बाहिर पनि कतिपय निजी स्कुललाई सरकारीसँग प्रतिस्पर्धा गर्न धौ–धौ छ । कम शुल्कमा बोर्डिङ स्कुलको भन्दा राम्रो शिक्षा, भविष्यमा उच्च शिक्षा अध्ययनका लागि सरकारले दिने छात्रवृत्तिलगायल अवसरले गर्दा राम्रा सामुदायिक विद्यालयमा अहिले विद्यार्थी भर्ना नपाएर फर्किनुपर्ने अवस्था छ । काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य उच्च मावि एउटा नमुना हो । यो स्कुलले विद्यार्थी भर्नाको चाप थेग्न सकेको छैन । विद्यार्थीको चाप अत्यधिक भएका कारण सबैलाई भर्ना गर्न असमर्थ भएको विद्यालयले जनाएको छ ।

रत्नराज्य स्कुलकी प्राचार्य गीता खरेल (शिवाकोटी) अभिभावकले बोर्डिङ स्कुलबाट समेत विद्यार्थी निकालेर ल्याउन थालेपछि सबैलाई भर्ना लिन नसकिएको बताउँछिन् । रत्नराज्य स्कुलले शिशु कक्षादेखि नै अंग्रेजी माध्यममा पढाउने गरेको छ । विद्यार्थीले एसएलसीमा ९० देखि ९५ प्रतिशत ल्याउने गरेका छन् । यो नतिजा नाम चलेका राजधानीका बोर्डिङ स्कुलको जस्तै हो । यो वर्षको एसएलसीमा अधिकांश विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । विद्यालयका सबै शिक्षकका छोराछोरी सोही स्कुलमा पढ्ने गरेका कारण पनि विद्यार्थीको गुणस्तर सुधार गर्न सबै लागिपर्छन् । सरकारी विद्यालयका सबै शिक्षकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा भर्ना गरेर अध्यापनका लागि धेरै समय छुट्याउन सके सबै सरकारी विद्यालयको अवस्था राम्रो हुने प्राचार्य खरेल बताउँछिन् ।

केही वर्षयता अभिभावकले आफ्ना छोराछोरीलाई ८ कक्षासम्म बोर्डिङ स्कुलमा पढाउने र त्यसपछि सरकारी विद्यालयमा भर्ना गर्ने चलन पनि बढेको छ । सरकारले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका विभिन्न अवसर र छात्रवृत्तिमा प्राथमिकता दिने भएकाले माथिल्लो कक्षामा पुगेका विद्यार्थीलाई सरकारी विद्यालयमा भर्ना गर्ने लहर नै चलेको छ । रत्नराज्य स्कुलको राम्रो पक्ष भनेको गुणस्तरीय शिक्षा हो । भौतिक पूर्वाधारको अवस्था दयनीय हुँदाहुँदै पनि विद्यालयले समय सुहाउँदो शिक्षा दिइरहेको छ । रत्नराज्य स्कुलजस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालय पनि एक हो ।

यो विद्यालयले शनिबारमात्रै स्थापनाको ५० वर्ष पूरा ग(यो । विद्यालयमा भएको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र शिक्षामन्त्री धनीराम पौडेल पनि सहभागी थिए । शनिबार नै राष्ट्रपतिले विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिन् । विद्यालयले आगामी शैक्षिक सत्रदेखि सबै संकायमा कक्षा ११ र १२ तथा ९ कक्षादेखि प्राविधिक शिक्षा पढाउने योजना बनाएको छ । विद्यालयका प्रधानाध्यापक लिलानाथ शर्मा काठमाडौंको उत्कृष्ट विद्यालय बन्ने उद्देश्यका साथ मंगलोदय अघि बढिरहेको बताउँछन् ।

“विद्यार्थी र अभिभावकको माग एवं समयानुकूल चल्ने क्रममा सबै कक्षाहरूको पढाइ अंग्रेजी माध्यमबाट गराइँदै आएको छ,” शर्मा भन्छन् । विद्यालयमा विद्यार्थीको चाप बर्सेनि बढ्दै गइरहेको छ । हाल विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीमा आईसीटीको विकासका लागि थप कम्प्युटर तथा कम्प्युटर प्रयोगशालाको व्यवस्था गरिएको छ । विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थित गर्ने क्रममा छ । विद्यालयले विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरेर २ करोड रुपैयाँ खर्च गरी नयाँ भवन निर्माण गरेको छ । ०६३ सालदेखि विद्यालयले एसएलसीमा शतप्रतिशत नतिजा दिँदै आइरहेको छ । यो विद्यालय शिक्षा मन्त्रालयबाट पनि पुरस्कृत भइसकेको छ ।

उपत्यकामा कति छन् राम्रा स्कुल ?
काठमाडौंका १ सय ६०, भक्तपुरका ३९ र ललितपुरका ७३ गरी उपत्यकाका २ सय ७२ सामुदायिक विद्यालयले हरेक वर्ष एसएलसी परीक्षामा विद्यार्थी सहभागी गराउँदै आएका छन् । तर, राम्रो नतिजा निकाल्ने विद्यालय भने करिब एक दर्जनमात्र छन् । काठमाडौंका रत्नराज्य मावि, फुटुङ मावि, सिद्धेश्वर मावि, जनउद्धार मावि, मनमैजु मावि, बलम्बु मावि, सुन्ताखान मावि, सेतीदेवी मावि, मंगला मावि नैकाप र बहिरा बालक मावि नक्साल राम्रो नतिजा ल्याउने सार्वजनिक विद्यालय हुन् । त्यस्तै, ललितपुरका सिस्नेरी मावि लामाटार र श्रीङ्गेरी माविले शतप्रतिशत नतिजा ल्याउँदै आएका छन् । भक्तपुरका कन्या सहशिक्षा मावि, शेखापुर र जोरपाटी मावि जोरपाटीले पनि बोर्डिङ स्कुललाई चुनौती दिने नतिजा दिइरहेका छन् ।

उपत्यकाका करिब एक सय विद्यालयले ९० प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउने गरेका छन् । अभिभावक सचेतमात्र नभई दृढ इच्छाशक्ति भए सरकारी विद्यालयले पनि निजी स्कुलभन्दा राम्रो गर्न सक्छन् भन्ने उदाहरण हो यो । तर, उपत्यकाका कतिपय सरकारी विद्यालयको नतिजा शून्य पनि छ ।

हाम्रो स्कुल बोर्डिङभन्दा राम्रो छ
सन्तोषी चापागाईं
कक्षा ९, रत्नराज्य मावि
म यहाँ आउनुअघि बोर्डिङ स्कुलमा पढ्थें । सरकारी भए पनि यहाँ राम्रो पढाइ हुन्छ भनेर भर्ना भएको हो । यो स्कुलको परीक्षा तथा अध्यापन प्रणालीमा बोर्डिङको भन्दा राम्रो छ । राम्रो पढाइ भए पनि अतिरिक्त क्रियाकलपका लागि खेल मैदानको भने अभाव छ । विद्यार्थी धेरै भएका कारण पनि सबैलाई खेल मैदानको व्यवस्था गर्न नसकिएको हुनसक्छ । आउटडोर गेमको लागि स्थान नभए पनि इनडोर गेमको भने विद्यालयमा सुविधा छ । हाम्रो कक्षामा देशभरका विभिन्न जिल्लाबाट आएका विद्यार्थी भएकाले अध्ययन र अन्य विषयको जानकारी लिन सजिलो भएको छ ।

पढाइ राम्रो छ
मनिष पराजुली
कक्षा ९, रत्नराज्य मावि
म यसअघि कक्षा ७ सम्म बोर्डिङ स्कुलमा पढ्थें । यहाँ पनि बोर्डिङमा जतिकै पढाइ हुने गरेको छ । सरकारी विद्यालयबाट माध्यमिक तह पास गरेकालाई भविष्यमा छात्रवृत्तिको अवसर प्राप्त हुने भएकाले यो स्कुल रोजेको हुँ । यो स्कुलमा बोर्डिङमा जस्तै सरहरूले परीक्षा र अन्य शैक्षिक क्रियाकलापमा ध्यान दिएर काम गर्नुहुन्छ । विद्यार्थीको चाप बढी भएका कारण कतिपय अवस्थामा सरहरूले चाहेर पनि सबैलाई ध्यान पु¥याउन सक्नुभएको छैन । तर, सबै प्रश्नको उत्तर ध्यान दिएर परीक्षण गरियो भने राम्रो अंक आउँछ ।

कक्षाकोठा अभावमा भर्ना लिन सकिएको छैन
शिवप्रसाद रेग्मी
सहायक प्रधानाध्यापक, रत्नराज्य मावि
रत्नराज्य स्कुलमा कक्षा १२ सम्मका विद्यार्थीको संख्या १९ सयभन्दा बढी छ । यो स्कुल सामुदायिक भए पनि विद्यार्थीको चाप थेग्नै नसक्ने छ । कक्षा १० सम्मका विद्यार्थीको संख्यामात्र हिसाब गर्ने हो भने लगभग १५ सय हुन आउँछ । प्रारम्भिक बालविकास केन्द्रमा मात्र ७० भन्दा बढी बालबालिका छन् । विद्यार्थी संख्या अनुपातमा अभैm पनि १५ वटा कक्षा अपुग छ । कक्षाकोठाको अभावमा नर्सरी र युकेजीका बालबालिकालाई एकै स्थानमा राखेर पढाउनुपर्ने बाध्यता छ । भूकम्पपछि समयमा विद्यालय भवन बन्न नसक्दा कक्षा ८ र ९ मा भर्ना हुन आएका २ सय विद्यार्थी फर्किएका छन् । शिक्षक र कक्षा कोठा पर्याप्त भए भर्ना हुन आएका सबैलाई भर्ना गर्ने योजना छ । पूर्वाधार सुधार गर्न सके अझै राम्रो शिक्षा दिन सक्छौं ।

 

सम्बन्धित खबरहरु