काठमाडौं। अभिनेता प्रदीप खड्का यतिबेला चलचित्र ‘लभ स्टेसन’को छायांकनमा दार्जिलिङमा छन् । यसपटकको दसैंमा उनी परिवारसँग हुँदैनन् । चलचित्रको छायांकन जारी रहेको र छायांकन छाडेर पुरै युनिट दार्जिलिङबाट फर्कन सम्भव नभएकाले यसपटकको दसैं सुटिङ युनिटसँगै दार्जिलिङमै बित्ने प्रदीपले बताएका छन् ।

यसरी सुटिङकै कारण दसैंमा परिवारबाट पहिलोचोटि अलग रहनुपरेको अभिनेता प्रदीपले बताएका छन् । प्रदीपसँगै अभिनेत्री जसिता गुरुङ, अभिनेता रमेश बुढाथोकी, र निर्देशक उज्ज्वल घिमिरेको दसैं पनि यो चलचित्रको छायांकनमै दार्जिलिङमै बित्नेछ । चलचित्र लभ स्टेसनका निर्माता गोविन्द शाहीका अनुसार चलचित्रको छायांकन आधा सकिएको छ । बाँकी छायांकन छाडेर युनिट नै नेपाल फर्कन गाह्रो भएकाले बाध्य भएर आफूहरू दसैंमा दार्जिलिङमै बस्नुपरेको शाहीले बताए । दसैंमा दुई दिन छायांकन रोकेर आपसमा खानपिन गर्दै टीका लगाएर दसैं मनाउने पनि उनले बताए ।


निर्माता एवं निर्देशक अशोक शर्मा यसपटक दसैंमा आफन्तसँग भन्दा चलचित्र हलमा बढी व्यस्त हुनेछन् । ३० असोज फूलपातीबाट उनको नयाँ चलचित्र ‘जय भोले’ देशव्यापी रूपमा चलचित्र हलमा रिलिज हुँदै छ । डेढ दशकपछि चलचित्र निर्माणमा फर्किएका अशोक शर्माले यसपटकको दसैंबारे भने, ‘दसैंमा टीकाको दिन आफन्तसँग बसेर टीका लगाए पनि बाँकी समय म चलचित्र हलमै हुनेछु । यसपटकको दसैं दर्शकमाझ जय भोलेसँग बित्नेछ ।’

खगेन्द्र टीका सकेर सोही दिन चलचित्रको प्रोमोसनका लागि पोखराका चलचित्र हलमा पुग्नेछन् अशोक शर्मा मात्र हैन, चलचित्र जय भोलेका पूरै टिमको दसैं यसपटक चलचित्र हलमा बित्दै छ । यो चलचित्रका मुख्य अभिनेता खगेन्द्र लामिछानेले पनि टीकाको दिन घरमा टीकोटालोपश्चात् चलचित्र हलमा जाने योजना सुनाए । स्याङ्जाका खगेन्द्र टीका सकेर सोही दिन चलचित्रको प्रोमोसनका लागि पोखराका चलचित्र हल पुग्नेछन् ।

घटस्थापनामा रिलिज भएको चलचित्र छक्का पञ्जा ३ की निर्माता निर्देशक एवं अभिनेत्री दीपाश्री निरौला पनि आफ्नो दसैं विगतझैं यसपटक पनि चलचित्र हलमा बित्ने बताउँछिन् । ६ दिनअघि रिलिज भएको आफ्नो चलचित्रको प्रचार प्रसारमा उनी अहिले व्यस्त छिन् ।


आफू टीकाको दिन विराटनगर पुग्ने, त्यहाँ आफन्तसँग टीकोटालो गरेर फेरि चलचित्रको व्यापार प्रोमोसनका लागि विभिन्न सहरका चलचित्र हल पुग्ने दीपाले बताइन् । अभिनेत्री एवं चलचित्र निर्देशक झरना थापाको यसपालिको दसैं पनि चलचित्रको छायांकनमै बित्नेछ । गत बिहीबारबाट उनले आफ्नो नयाँ चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकन सुरु गरेकी हुन् । दसैंको अवसर पारेर दुईदेखि तीनदिनसम्म चलचित्रको छायांकन रोकिने यसका निर्माता सुनिलकुमार थापाले बताएका छन् । टीकालगत्तै चलचित्रको छायांकन निरन्तर गर्ने भएकाले यसपालि आफूहरूको दसैं पारिवारिक जमघटभन्दा पनि चलचित्रको छायांकनमा बित्ने निर्माता सुनिलकुमार थापाको कथन छ ।


अभिनेता अनमोल केसी र सरोन बस्नेत पनि ए मेरो हजुर ३ को छायांकनमा छन् । यी दुई अभिनेताले टीकाको दिन परिवारसँग टीका थापे पनि त्यसलगत्तै यो चलचित्रको छायांकनमा जोडिनेछन् । ए मेरो हजुर ३ को छायांकन परेकै कारण आफ्नो अर्को चलचित्र जय भोलेको रिलिजमा प्रचारका लागि दसैंमा चलचित्र हलमा जान नभ्याउने अवस्था रहेको पनि अभिनेता सलोनले बताए ।

सम्बन्धित खबरहरु