२०८२ कार्तिक १८ गते सोमवार | 2025 November 3rd Monday

पारस–हिमानीकी कान्छी छोरीले पनि लिइन् नागरिकता, सनाखतका लागि गएनन् बाबु ?

काठमाडौं । पूर्वयुवराज पारस शाहकी कान्छी छोरीले पनि नेपाली नागरिकता प्राप्त गरेकी छिन् । कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन् । उनलाई वंशजको आधारमा बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता दिएको हो ।

उनको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी शाह प्रशासनमा पुगेकी थिइन् । तपाईंलाई जानकारी गराउ कि नेपालको संविधान अनुसार बुवा वा आमा दुबैको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ ।

उनले वंशजको आधारमा नागरिकता लिएको र सनाखत गर्न आमा पुगेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी गराउनुभयो ।

छोरीले नागरिकता लिँदा पूर्वयुवराज पारस भने गएका थिएनन् । यसअघि जेठी छोरी पूर्णिकाले नागरिकता लिँदा पनि सनाखत गर्न हिमानी नै गएकी थिइन् ।

नेपालमा पहिला राज परिवारका सदस्यले नागरिकता लिनु नपर्ने व्यवस्था थियो । २०६५ गणतन्त्र घोषणा भएपछि पनि पूर्वराजपरिवारका सदस्यको नागरिकताबारे स्पष्ट व्यवस्था थिएन् ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि सबै नेपाली नागरिकलाई संविधानमुनि राखिएको छ । त्यसअघि अन्तरिम संविधान २०६३ कतिपय विषयमा मौन रहे पनि संविधान जारीपछि कानुनभन्दामाथि कसैलाई राखिएको छैन ।

अहिले पासपोर्ट बनाउन पनि नागरिकता अनिवार्य गरिएको छ । नाबालकको हकमा भने जिल्ला प्रशासन कार्यालयले दिने सिफारिसको आधारमा पासपोर्ट बन्ने गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार