काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डसँगको खेलमा अर्जेन्टिना भाग्यशाली सावित भयो ।
१–१ गोलको बराबरी हुँदा ७१ औं मिनेटमा रातो कार्ड खाँदै एक खेलाडी मैदान बाहिरिएर स्विट्जरल्यान्ड मात्र १० खेलाडीमा समेटियो । तरपनि स्विट्जरल्यान्डको रक्षा पंक्तिले डटेर खेललाई थप समयमा पुर्याए । रक्षात्मक खेल्दा खेल्दै दवावपूर्ण अवस्थामा थपिएको समयको दोस्रो हाफमा स्विट्जरल्यान्डले गोल खान पुग्यो ।
बराबरी गराउन रक्षा घेरा छोडेर स्विट्जरल्यान्ड अर्जेन्टिनाको पोष्टमा केन्द्रीत भयो । त्यही मौका छोप्दै अर्जेन्टिनाले मैदानको मध्य भागदेखी बल दौडायो । मार्टिनेजले अवसर नचुकाइ गोल गरेर हेर्दा हेर्दै २ गोलको अग्रतामा अर्जेन्टिनाले खेल जित्यो ।

