२०८२ कार्तिक १८ गते सोमवार | 2025 November 3rd Monday

पुनः वर्षा र हिमपात हुने सम्भावना कति छ ? यसो भन्छन् मौसमबिद्

काठमाडौ । आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर रहेको छ ।

विभागले गण्डकी र प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ । ती स्थानका उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १३ दशमलव पाँच डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४ दशमलव सात डिग्री सेल्सियस छ ।

 

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार