काठमाडौं । अत्यधिक चिसो बढेपछि सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सोमबारबाट एक साताका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।

कठयाङ्ग्रिदो चिसोले विद्यार्थीहरुलाई विद्यालय आउनजान नै समस्या पर्न थालेपछि गाउँपालिकाले सोमबारदेखि पुस २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत र मदरसाहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवनारायण कापरले जानकारी दिनुभयो । बन्द भएका विद्यालय पुस २७ गतेबाट खुल्ने गाउँपालिकाले जनाएको छ ।
दिनानुदिन चिसो बढ्दै गएकाले जिल्लाका अन्य पालिकाहरुले पनि विद्यालय बन्द गर्ने तयारी गरेका छन् । सर्लाहीसहित तराई क्षेत्रमा बिगत चार दिनदेखि घाम नलागेका कारण अत्यधिक चिसो छ ।
हुस्सु लागेर शितलहर चल्नुका साथै चिसो स्याँठ चल्दा जनजीवन कष्टकर बनिरहेको छ । चिसोले मुसहर, डोम, चमार लगायत पिछडिएको दलित परिवार र अतिविपन्नहरु बढी प्रभावित भएका छन् ।
कठयाङ्ग्रिदो चिसोबाट नागरिकलाई जोगाउन सर्लाहीमा कुनै पनि स्थानीय तहले यस वर्ष आगो ताप्नका लागि दाउरा समेत वितरण गरेका छैनन् । न्यानो कपडा र ओढने–ओछयाउन नभएकाहरु रातदिन चिसोमा कठयाङ्ग्रिएरै बसिरहेका छन् ।

