काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद संकटमा परेको छ । उहाँको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको हो ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिनु भएको छ ।
कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख छ । तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गर्नुभएको थियो ।
त्यउसकारण चौधरी केन्द्रीय सदस्य बन्न नपाउने यादवको तर्क रहेको छ । चौधरी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै यादवले उनको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गर्नुभयो ।
उद्योगपति चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी (खुला) कोटाबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको हो । उजुरी पत्रसँगै विनोद चौधरी विगतमा एमालेबाट सभासद् बनेको प्रमाणसमेत पेस गरिएको छ ।

