काठमाडौं । सोमबारदेखि जोर–विजोर प्रणली हटेको छ । विद्यालय कलेज फागुन १ बाट खुल्ने भएका छन् । सोमबारदेखि उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणली हट्ने भएको हो ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो । अर्कोतिर विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने भएको छ ।

तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको शर्माको भनाइ छ । सीसीएमसीसीको आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

कोरोनाको तेस्रो लहर ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । काठमाडौं उपत्यकामा निजी सवारी साधन र ट्याक्सीमा लागू जोरबिजोर प्रणाली हटाउन पनि सीसीएमसीसीले सिफारिस गरेको थियो ।

सीसीएमसीसीले रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खानालगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सिफारिस गरेको छ ।

सम्बन्धित खबरहरु