२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

उर्जामन्त्रीको हठले बन्द भए देशका तीन ठूला सिमेन्ट उद्योग, खोसियो सयौंको रोजागार

काठमाडौं । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेको भन्दै दाङका घोराही र सोनापुर सिमेन्ट उद्योग र अर्घाखाँची सिमेन्ट उद्योगको बिजुली काट्दा यी उद्योग ठप्प भएका छन्।

घोराही सिमेन्ट उद्योगमा दैनिक ३ हजार मेट्रिक टन क्लिंकर उत्पादन हुँदै आएको थियो भने सोनापुर उद्योगले दैनिक ३५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो। अर्घाखाँची सिमेन्टले दैनिक ६० हजारभन्दा बढी बोरा उत्पादन गर्ने क्षमता राख्दथ्यो।

उद्योग बन्द भएपछि दाङका घोराही र सोनापुरमा ६ सय, अर्घाखाँचीमा तीन सय बढी कामदार अनिश्चितकालका लागि बिदा भएका छन्। उद्योगका प्रबन्धकहरूले बिजुली नजोडिँदा उत्पादन ठप्प भएको र निर्यात तथा रोजगारीमा ठूलो असर परेको बताएका छन्।

घोराही उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले भने, ‘सरकारी निकासको आशा गर्दै उद्योग र कर्मचारी प्रतीक्षामा बसेका छन्।’ अर्घाखाँची सिमेन्टका प्रशासन प्रमुख अजय भट्टराईले भने, ‘कम्पनीले नियमित विद्युत् महसुल तिर्दै आएको थियो। तर ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनअनुसार बक्यौता उठाउन प्रक्रिया सुरु भएपछि उद्योग संकटमा परेको हो।’

सोनापुर उद्योगका कार्यकारी प्रमुख हरी पाठकले भने, ‘उद्योग बन्द हुँदा दैनिक ५० लाख रुपैयाँभन्दा बढी घाटा भइरहेको छ। कर्मचारीलाई बोलाएर के गर्नु?’ उनले उद्योग र कर्मचारीहरूको संकट सरकारको सक्रियतामा निर्भर रहेको बताए।

दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले भने, ‘उद्योग बन्द हुनु दुखद पक्ष हो। यसले रोजगारी र बजार ठप्प पारेको छ। सरकारले जिम्मेवारीपूर्वक विकल्प खोज्नुपर्छ।’

नेपाल विद्युत् प्राधिकरणले घोराही उद्योगमा ५० करोड ८५ लाख, सोनापुर उद्योगमा २४ करोड ३० लाख र अर्घाखाँची सिमेन्ट उद्योगमा ४४ करोड ८४ लाख रुपैयाँ बक्यौता रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस