२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

उर्जामन्त्री घिसिङको निर्णयले बन्द भयो देशकै ठूलो उद्योग, ३५ सय कामदार बिदामा

विराटनगर। डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले सुनसरीको इटहरी–१२ खनारस्थित देशकै ठूलो रिलायन्स स्पिनिङ मिल्सको विद्युत् लाइन काटेपछि उद्योग एक साता देखि ठप्प छ। प्राधिकरणले कात्तिक ४ मा उद्योगको विद्युत् लाइन काटेको हो। डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउनेबारे उर्जामन्त्री कुलमान घिसिङले लिएको कडा अडानका कारण व्यवसायी तनावमा देखिन्छन्।

२०५१ सालमा स्थापना गरिएको रिलायन्स स्पिनिङ मिल्समा झन्डै ३५ सय कामदारले रोजगारी पाएका छन्। अत्याधुनिक प्लान्टले दैनिक एक सय टनभन्दा बढी उत्पादन गर्दै आएको थियो र टर्कीदेखि जापानसम्म धागो निर्यात हुँदै आएको कम्पनीले जनाएको छ।

उद्योगका प्रबन्धक महेश पोखरेलले भने, ‘बिजुली काटिएपछि उद्योग चलाउन सक्ने अवस्था छैन। बिजुली नजोडिएसम्म उद्योग चल्ने स्थिति छैन।’

प्राधिकरणले ७५ करोड रुपैयाँको बक्यौता रहेको भन्दै लाइन काटेको हो। पोखरेलले भने, ‘हामी मासिक ६ करोड तिर्दै आएका थियौं, तर अब अन्धकारमा बस्नुपरेको छ।’

उद्योग ठप्प भएपछि ३५ सय कामदारलाई ‘बिदा’मा राखिएको छ। उत्पादन रोकिएपछि निर्यात पनि ठप्प भएको छ। पोखरेलले भने, ‘मासिक ६ करोड त बिजुलीको मासिक बिल तिरिरहेका थियौं। निर्यातबापत देशमा डलर पनि भित्रिरहेको थियो। बिजुली काट्दा राज्यलाई नै घाटा भएको छ।’

रिलायन्सले नेपालका ३ हजारभन्दा बढी कपडा उद्योगलाई धागो उपलब्ध गराउँदै आएको छ। वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको धागो भारत र अन्य देशमा निर्यात हुँदै आएको भए पनि उद्योग ठप्प हुँदा उत्पादन शून्य भएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस